याक एण्ड यतीको इजाजत खारेजीले गलत सन्देश जान्छ : हान



काठमाडौं,फागुन ४ । होटल संघ नेपाल (हान)ले होटल याक एण्ड यतीको इजाजत खारेजीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । मंगलवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई भेटेर हानले पाँचतारे होटलको इजाजत खारेज गर्दा यसले गलत सन्देश जाने बताएको हो ।

नेपालको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको पाँचतारे होटलको इजाजत खारेजीले पार्ने प्रभावबारे मन्त्रीको ध्यानाकर्षण गराइएको हानले बताएको छ । सरकारको यस निर्णयबाट होटलमा कार्यरत श्रमिक तथा कर्मचारीको पारिश्रमिक तथा करारअन्तर्गत अग्रिम बुकिङ गरिएको सेवा सुविधा उपलब्ध गराउन समस्या भएको हानकी अध्यक्ष सिर्जना राणाले बताइन् । कोभिडको महामारीले पर्यटन व्यवसाय धराशयी भएको अवस्थामा सरकारको उक्त निर्णयले नेपालको पर्यटन क्षेत्रमा लगानीको वातावरणमा समेत असर गर्ने उनले औंल्याइन् ।

मुलुकको कानून बमोजिम हुने राजस्व तथा अन्य राज्यले प्राप्त गर्ने शुल्क नियम बमोजिम हुने भन्दै अध्यक्ष राणाले होटल सञ्चालनको निरन्तरताका लागि जोड दिइन् । याक एण्ड यती लगायत अन्य होटलको सम्बन्धमा उठेका विषय र निर्णय समेतको बारेमा उनले संघको धारणा राखिन् । होटलले राष्ट्रिय अर्थतन्त्र तथा रोजगारीमा पुर्‍याएको योगदानको कदर गर्न पनि हानले सरकारको ध्यानाकर्षण गराएको छ । कोभिडबाट उत्पन्न यो जटिल परिस्थितिमा होटल उद्योगको प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि हानले सरकारसँग आग्रह गरेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्