राष्ट्र बैंक सर्वेक्षण : महँगी ११ % पुग्ने सर्वसाधारणको आकलन



काठमाडौं,फागुन ५ । सरकारले मूल्यवृद्धिलाई सीमाभित्रै राख्ने बताइरहेका बेला सर्वसाधारणले भने महँगी थप बढ्दै जाने आकलन गरेका छन् ।

मूल्यवृद्धिदरबारे सर्वसाधारणको अपेक्षा बुझ्न नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा अधिकांश सर्वसाधारणले महँगी बढ्दै जाने बताएका हुन् ।

राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको सर्वसाधारणको मुद्रास्फीति अपेक्षासम्बन्धी सर्वेमा सहभागीमध्ये ९७ दशमलव १ प्रतिशतले मूल्यवृद्धिदर बढ्ने बताएका छन् । उनीहरूले आगामी १ वर्षमा औसत मूल्यवृद्धिदर ११ दशमलव ४ प्रतिशत पुग्ने बताएका छन् । यसअघि २०७७ माघमा गरिएको सर्वेक्षणमा औसत मूल्यवृद्धिदर ११ प्रतिशत र २०७८ असोजमा गरिएको सर्वेक्षणमा १० दशमलव ३ प्रतिशत हुने अपेक्षा गरेका थिए ।

राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ सर्वसाधारणले वर्तमान अवस्थाका आधारमा भविष्य के हुन्छ भनेर गर्ने आकलनमा आधारित रही अनुसन्धान गरिएको र त्यसले मुद्रास्फीति बढ्दै जाने उनीहरूलाई लागेको बताए ।

राष्ट्र बैंकले मूल्यवृद्धिदरबारे सर्वसाधारणको अपेक्षा बुझ्न गतवर्षबाट मुद्रास्फीति सर्वे गर्न थालेको हो । यसबाट मुद्रास्फीतिबारे सर्वसाधारणको अपेक्षा बुझ्न र आगामी दिनका लागि नीति तय गर्न सहज हुने उनले बताए ।

‘यो मुद्रास्फीतिबारे सर्वसाधारणले के सोच्छन् भन्ने संकेत मात्र हो,’ श्रेष्ठले भने, ‘त्यति नै पुग्छ भन्ने हुँदैन ।’

प्रतिवेदनले मूल्यवृद्धिदर बढ्ने आकलन गर्ने सर्वसाधारणको संख्या बढ्दै गएको देखिएको छ । २०७८ असोजमा भएको अध्ययनमा ८७ प्रतिशत सर्वसाधारणले मात्र ३ महीनामा मूल्यवृद्धि बढ्ने अपेक्षा गरेका थिए भने २०७८ पुसमा भने त्यस्तो अपेक्षा गर्नेको संख्या ९१ दशमलव १ प्रतिशत पुगेको छ ।

यसैगरी सर्वसाधारणले सबैभन्दा बढी खाद्यसामग्रीको मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् ।

चालू आर्थिक वर्ष (आव) मा बैंक तथा वित्तीय संस्थामा तरलता अभावसँगै ब्याजदर बढेपछि मूल्यवृद्धिदरमा दबाब परिरहेको छ ।

सरकारले चालू आवमा मूल्यवृद्धिदर ६ प्रतिशतभित्र राख्ने लक्ष्य राखेको छ । तर, मङ्सिरमा मूल्यवृद्धिदर लक्ष्यभन्दा माथि ७ दशमलव ११ प्रतिशतमा पुगेको थियो । पुस महीनामा भने मूल्यवृद्धिदर घटेर ५ दशमलव ६५ प्रतिशतमा झरेको छ ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्