गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल : जेठ २ देखि शुरू हुँदै व्यावसायिक उडान



काठमाडौं,फागुन ६ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी बुद्धजयन्ती (जेठ २ गते)देखि भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान शुरू गर्ने भएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार विमानस्थलको व्यावसायिक सञ्चालन गर्नुपूर्व एरो थाईले शुक्रवारदेखि परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) गर्दै छ । क्यालिब्रेशन फ्लाइट सम्पन्न भएपछि व्यावसायिक उडानका लागि एक समिति गठन गरिएको छ । उक्त समितिलाई जेठ २ देखि व्यावसायिक उडान शुरू गर्नेगरी काम गर्न जिम्मेवारी दिइएको उनले बताए ।

निर्माण शुरू भएको झन्डै ७ वर्षमा उक्त विमानस्थलमा परीक्षण उडान हुन लागेको हो । थाइल्यान्डको एयरलाइन्स कम्पनी एरो थाईले १० दिनसम्म परीक्षण उडान गर्नेछ ।

जेठदेखि व्यावसायिक उडान शुरू गर्ने योजनाअनुसार एरो थाईको एउटा विमानले शुक्रवारदेखि फागुन १५ गतेसम्म परीक्षण उडान गर्ने विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले पुष्टि गरे । विमानस्थलले परीक्षण उडानका लागि बिहान १० बजेदेखि साँझ ५:३० बजेसम्म समयतालिका राखेको छ ।

परीक्षण उडान दैनिक ६ देखि ८ पटकसम्म हुनेछ । यसैगरी बिहान १० देखि बेलुका साढे ५ बजेसम्मका लागि भने भैरहवास्थित उक्त विमानस्थलमा आन्तरिक एयरलाइन्स कम्पनीले उडान गर्न पाउने छैनन् । दाहालका अनुसार एरो थाईले परीक्षण उडान गर्ने समय दिउँसो रहेकाले उक्त समयमा उडान गर्न रोक लगाइएको छ । शुक्रवारदेखि १० दिनसम्म आन्तरिक उडान बिहान र बेलुका (५ बजेपछि) गरिने तालिका बनाइएको उनले जानकारी दिए ।

बेलुका रातिका उडान जति बेलासम्म आए पनि विमानस्थलमा सेवा निरन्तर रहने उनको भनाइ छ । बिहीवार आएको एरो थाईको विमानसहित सात प्राविधिकसहितको टोली काठमाडौंबाट भैरहवा विमानस्थल पुगेको छ । विमानस्थलको धावनमार्ग, लाइटिङ प्रणाली, हवाई सञ्चार (टावर कम्युनिकेशन), अवतरणलगायत पक्षको जाँचका लागि क्यालिब्रेशन उडान गरिन्छ ।

उक्त एयरलाइन्स कम्पनीले १० दिनसम्म परीक्षण उडान गरेर प्रतिवेदन तयार गर्ने र त्यसमा सुधार गर्नुपर्ने पक्षका साथै व्यावसायिक उडानका लागि मिति निक्र्योल गर्न सुझाव दिनेछ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्