धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल



काठमाडौं,फागुन ६ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन् । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले हमाललाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । अध्यक्ष छनोटका लागि गठित समितिले अन्तिम चरणमा तीन जनाको नाम सिफारिश गरेको थियो ।

छनोट समितिले हमालसहित डा. गोपालप्रसाद भट्ट र कृष्णराज पोखरेलको नाम सिफारिश गरेको थियो । समितिको सिफारिशमा परेका तीन जनामध्येबाट मन्त्रिपरिषद् बैठकले हमाललाई बाँकी कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो । बोर्ड अध्यक्षका लागि १५ जनाले आवेदन दिएका थिए ।

तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सर्वोत्तम सिमेन्टको शेयर गैरकानूनी रूपमा किनेको भन्दै सरकारले गत असोज १९ गते बर्खास्त गरेको थियो । बर्खास्तमा परेका ढुंगानालाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ साल पुसमा नियुक्त गरेको थियो ।

इलेक्ट्रिकल इन्जिनीयरिङमा स्नातक गरेका डोटी सिलगढीका हमालले ८ वर्ष नेपाल विद्युत् प्राधिकरणमा काम गरेका थिए । त्यसपछि उनले थाइल्यान्डको बैंककबाट इन्टरनेशनल बिजनेश (फाइनान्स)मा स्नातकोत्तर गरेका छन् ।  सन् २००७ देखि २०१० सम्म गैरआवासीय नेपाली संघ (एनआरएनए), थाइल्यान्डको अध्यक्ष भएका उनी ६ वर्षअघि मात्र नेपाल फर्किएका थिए । नेपाल फर्किएलगत्तै उनी थाइल्यान्डको चर्चित होटेल ब्रान्ड दूषित थानीको चेन होटेलका रूपमा काभ्रेमा पाँचतारे होटेल निर्माण गरिरहेका छन् ।

नवनियुक्त अध्यक्ष हमालले साना लगानीकर्ताको हितमा काम गर्ने बताए । धितोपत्र बजारमा साना लगानीकर्ताको पहुँच बढाउन आगामी दिनमा आफ्ना तर्फबाट पहल हुने भनाइ हमालको छ ।

साथै बजारलाई पारदर्शी र विश्वासिलो बनाउनेतर्फ आफूले ध्यान दिने प्रतिक्रिया हमालले दिएका छन् ।

ढुंगानाको पक्षमा आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार
नेपाल धितोपत्र बोर्डको अध्यक्षबाट बर्खास्तीमा परेका भीष्मराज ढुंगानाको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

न्यायाधीशहरू मीरा खड्का, आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको पूर्ण इजलाशले अन्तरिम आदेश जारी नहुने निर्णय सुनाएको हो । यससँगै उनको धितोपत्र बोर्डमा फर्कने सम्भावना समाप्त भएको छ ।  सर्वोत्तम सिमेन्टको शेयर प्रकरणमा विवादित भएपछि सरकारले उनलाई बर्खास्त गरेको थियो ।

सरकारको निर्णयलाई चुनौती दिँदै ढुंगानाले २०७८ कात्तिक ७ गते रिट दायर गरेका थिए । उक्त रिटमा उनले आफ्नो पुनर्बहाली हुनुपर्ने माग गरेका थिए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्