घर जग्गा र शेयर कर्जामा कडाई गर्ने राष्ट्र बैंकको घोषणा, घरजग्गा व्यवसायमा थप संकट !



पूर्वाधार विकास बैंकले पनि ऋण पत्र जारी गर्न पाउने

काठमाडौं,फागुन ६ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/ ७९ का लागि ल्याएको मौद्रिक नीतिको बिहीवार समीक्षा गरेको छ ।  

राष्ट्र बैंकले अर्थतन्त्रमा देखिएका विद्यमान समस्याहरु समाधान हुने गरी मौद्रिक नीतिको समीक्षा गरेको उल्लेख गरेको छ ।

केन्द्रीय बैंकले अनुत्पादक क्षेत्रमा जाने कर्जामा थप कडाई गर्ने घोषणा गरेको छ भने उत्पादनशील क्षेत्रमा जाने ऋणको ब्याजदर केही सस्तो बनाउने बताएको छ । साथै उसले अव घरजग्गा तथा शेयर धितोमा लगानी हुने कर्जामा पुनरावलोकन गर्ने पनि उल्लेख गरेको छ । तर उसले समीक्षामा के कति हुने भन्ने विषयमा भने केहि उल्लेख गरेको छैन । 

साथै उसले समीक्षामार्फत् कृषि, ऊर्जा तथा लघु, घरेलु, साना एवम् मझौला उद्यम क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जाको सीमा साथै रेमिट्यान्स स्थानान्तरणको सुविधालाई समेत पुनरावलोकन गर्ने बताएको छ ।

केन्द्रीय बैंकले बैंकहरुले राष्ट्र बैंकसँग लिने सापटीको ब्याजदरलाई पनि बढाएको छ। बैंकले मौद्रिक नीतिको कार्यदिशाको संकेतको रुपमा बैंकदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशत विन्दुले थप गरी ७ प्रतिशत कायम गरेको छ ।

ब्याजदर करिडोरसँग सम्वन्धित स्थायी तरलता सुविधा दर ७ प्रतिशत कायम  गरिएको छ। यसअघि बैंकहरुले ५ प्रतिशत ब्यादरमा स्थायी तरलता सुविधा लिंदै आएका थिए। यसैगरी पूर्वाधार विकास बैंकले पनि ऋण पत्र जारी गर्न पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्