दुई वर्षपछि पुनः मुम्बई र बैंगलोरमा उडान गर्दै नेपाल एयरलाइन्स, पर्यटक बढ्ने अपेक्षा



काठमाडौं,फैसला २६ । नेपाल एयरलाइन्सले झन्डै दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बैंगलोरमा पुनः उडान सञ्चालन गर्ने भएको छ ।

कोभिड–१९ महामारीका कारण स्थगित भएको उक्त गन्तव्यको उडान पुनः सञ्चालन गर्न लागिएको निगमले जानकारी दिएको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आगामी चैत १३ गते (मार्च २७, २०२२) देखि मुम्बईमा नियमित उडान पुनः सञ्चालन गर्न लागिएको छ । यो गन्तव्यमा साताको तीन उडान हुनेछ । काठमाडौं–मुम्बई रुटमा बुधवार, शुक्रवार र आइतवार उडान हुनेछ ।

त्यसैगरी निगमले भारतकै अर्को महत्वपूर्ण गन्तव्य बैंगलोरमा पनि चैत १५ (मार्च २९, २०२२) देखि पुनः उडान सञ्चालन गर्ने निगमका प्रवक्ता खड्काले बताए । उनका अनुसार यो गन्तव्यमा पनि सातामा तीन उडान सञ्चालन हुनेछ । मंगलवार, बिहीवार र शनिवार उडान सञ्चालन गरिनेछ ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण २०७६ चैतदेखि स्थगित उडान फेरि शुरु हुने भएका हुन् । सन् २०२० मार्च २१ तारिखदेखि भारतको बैंग्लोरमा नेपाल एयरलाइन्सको उडान हुन सकेको थिएन ।

काठमाडौं–बैंगलोर–काठमाडौंको उडान धार्मिक पर्यटनका दृष्टिले पनि राम्रो मानिन्छ । नेपाल एयरलाइन्सको बैंग्लोर स्टेसनका प्रबन्धक रीतादेवी राईका अनुसार नेपालबाट बैंगलोर र बैंग्लोरबाट नेपाल आउने धार्मिक पर्यटकको संख्या ठूलो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्