दैनिक २ हजार पर्यटक



काठमाडौं,वैशाख ५ । कोभिड–१९ को संक्रमण घट्ने क्रमसँगै नेपाल आउने विदेशीको संख्या बढ्न थालेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार अचेल दैनिक नेपाल आउने विदेशी पर्यटकको संख्या २ हजार पुगेको छ ।

गत अप्रिल १ देखि १० सम्मको तथ्यांकअनुसार दैनिक लगभग २ हजार विदेशी नेपाल आइरहेको अध्यागमन कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार अप्रिल १ मा २ हजार ५१३ विदेशी पर्यटक नेपाल आएका थिए । पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर नगण्य रहेकाले पर्यटक आउने क्रम एकाएक बढेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।

उनले भने, ‘कोरोना जोखिम शून्यजस्तै छ, त्यसैले पर्यटक आउने क्रम बढेको छ, आगामी दिनमा अझै बढ्छ ।’ गत जनवरीदेखि मार्चसम्म कुल ७८ हजार १८२ विदेशी पर्यटक आएका थिए ।

नेपाल आउने विदेशीको संख्या बढिरहेको, विमानस्थलमा एउटा मात्र एटीएम रहेको र सफ्टवेयरले काम नगर्दा विद्युतीय कारोबार अवरुद्ध हुन सक्ने भन्दै कार्यालयले पर्यटकलाई नगदै बोकेर आउन आग्रह गरेको छ । त्यसो गर्दा अनअराइभल भिसाको शुल्क तिर्न सजिलो हुने कार्यालयको भनाइ छ ।
कार्डको भरमा आउँदा विमानस्थलको विद्युतीय कारोबार गर्ने सफ्टवेयरले काम नगरेको खण्डमा शुल्क तिर्न नपाएर भिसा नलाग्ने समस्या आउँछ । अनि पर्यटक लामो समय विमानस्थलमै अड्किन सक्छन् । त्यसैले कार्यालयले भिसा शुल्क बुझाउन सजिलो हुने भन्दै २ सय अमेरिकी डलर बराबर परिवत्र्य विदेशी मुद्रा बोकेर आउन सुझाएको हो ।

गौतमबुद्ध विमानस्थल वैशाख ८ बाट चल्ने
निर्माण सम्पन्न भई व्यावसायिक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त विमानस्थलको नयाँ धावनमार्ग चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै सोहीअनुसार काम भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

मन्त्री आलेले कोरोना जोखिम घटेकाले अब विमानस्थल २४सै घण्टा सञ्चालन गर्नसमेत नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् ।

साबिकको १ हजार ५ सय मीटर लामो धावनमार्ग बन्द गरेर अब ३ हजार मीटर लामो नयाँ धावनमार्ग सञ्चालन हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीले जानकारी दिए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्