७४ वर्षपछि खुल्यो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको ढोका



काठमाडौं, बैशाख ९। नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । निर्माणका क्रममा निकै आरोह अवरोह बेहोरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्गबाट बिहीबार उडान सुरु भएसँगै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक सञ्चालनमा आएको हो ।

यससँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक पनि अन्तर्राष्ट्रिय उडानका लागि देशमै पहिलो पटक अर्को नाका खुला भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को नयाँ विमानस्थल सञ्चालनमा आएको हो ।

आन्तरिक विमानस्थलका रूपमा ६४ वर्षअघि सञ्चालनमा आएको भैरहवा विमानस्थल अब अन्तर्राष्ट्रिय बनेर सञ्चालनमा आएको हो । यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्ध पूर्णिमाका दिन गरिने महानिर्देशक अधिकारीले बताउनुभयो । अब विदेशी एयरलाइन्सको जहाजले काठमाडौँ विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपत्कालीन अवस्थामा भैरहवा विमानस्थलमा जहाज अवतरण गर्न सक्नेछन् ।

विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले नयाँ धावनमार्गबाट सबै उडान सञ्चालन हुने जानकारी दिए । यो विमानस्थलमा जेठ २ गतेदेखि साताको तीन अन्तर्राष्ट्रिय उडान गर्ने गरी जजिरा एयरले सम्पूर्ण तयारी गरिसकेको छ । गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडान गर्न ११ भन्दा बढी मुलुकका कम्पनीले चासो देखाएका छन् । अहिलेसम्म नेपाल वायुसेवा निगम, जजिरा, श्रीलङ्कन एयरवेज, ओमानको सलाम एयरवेज, थाइ स्माइल, कतार एयरवेज, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर विज, ओमान एयरले यहाँबाट अन्तर्राष्ट्रिय उडानका लागि इच्छा देखाएका हुन् ।

अन्तर्राष्ट्रिय उडानको उद्देश्यसहित यो विमानस्थलमा तीन किलोमिटर लामो धावनमार्ग निर्माण गरिएको छ । यसको प्रयोगको सुरुवातसँगै यसअघि आन्तरिक उडानका लागि प्रयोग भइरहेको डेढ किलोमिटर लामो धावनमार्ग भने अब बन्द गरिने विमानस्थल कार्यालयले जनाएको छ । उक्त धावनमार्गलाई भविष्यमा अन्तर्राष्ट्रिय उडानको ट्याक्सी वेका रूपमा प्रयोग गर्ने योजना विमानस्थल कार्यालयको छ ।

सञ्चालनमा आएको जस्तो भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको इतिहास भने त्यति सुखद छैन । निर्माणका लागि सन् २०१३ मा एसियाली विकास बैङ्कसँग (एडीबी)सँग सम्झौता भएर सन् २०१५ को सुरुवातदेखि यसको निर्माण थालिएको थियो । सन् २०१७ को डिसेम्बरभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि मुख्य ठेकेदार र स्थानीय ठेकेदारबीच विवाद भएपछि निर्माणमै अन्योल सिर्जना भएको थियो । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्