ओडारबाट पाँच अवैध भरुवा बन्दुक बरामद, नदीजन्य पदार्थ उत्खनन् गर्ने जेसीबी पनि नियन्त्रणमा
सल्यान,असार २ । सल्यान प्रहरीले कालीमाटी गाउँपालिका–५ स्थित जंगलको एक ओडारबाट पाँच नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कालीमाटी गाउँपालिका–५ जुमखोलास्थित हरियाली सामुदायिक वनभित्र रहेको ओडारमा बन्दुक लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा खोजतलास गर्दा पाँच नाल भरुवा बन्दुक फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले बरामद भएका बन्दुक कसले र किन लुकाएर राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।
यसैबीच प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको एक जेसीबी पनि नियन्त्रणमा लिएको छ। बागचौर नगरपालिका–१० मोखलास्थित शारदा खोलामा बालुवा उत्खनन् गरिरहेको अवस्थामा रा १ क ७१९ नम्बरको जेसीबी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जेसीबी चालक दार्मा गाउँपालिका–५ का २४ वर्षीय रवि खड्कालाई समेत नियन्त्रणमा लिइएको सूचना अधिकारी भट्टराईले बताउनुभयो।
प्रहरीले नियन्त्रणमा लिएको सवारी साधनलाई आवश्यक कारबाहीका लागि बागचौर नगरपालिकामा पठाइएको जनाएको छ।

