रास्वपाको संगठन विस्तार तीव्र, ६४ जिल्लामा अधिवेशन सम्पन्न
काठमाडौं,असार २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म देशका ६४ जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ। पार्टीका अनुसार चार प्रदेश, ६०९ पालिका र चार हजार ३६३ वडामा अधिवेशन सम्पन्न भइसकेको छ।
रास्वपाले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ भने मधेस प्रदेशको अधिवेशन स्थगित गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने अधिवेशन प्रक्रिया जारी रहेको जनाइएको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशका रुकुमपूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ तथा मधेस प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाहीमा अझै अधिवेशन हुन सकेको छैन।
त्यस्तै सिन्धुपाल्चोक, सिरहा, महोत्तरी र रौतहट जिल्लामा अधिवेशन प्रक्रिया सुरु भए पनि विभिन्न कारणले स्थगित भएको जानकारी दिइएको छ।
रास्वपाले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना गर्ने तयारीलाई तीव्र बनाएको जनाएको छ। महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयन तथा आगामी राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।

