अप्रिलमा हवाईमार्गबाट ५८ हजार विदेशी



काठमाडौं,वैशाख २० । गत अप्रिलमा हवाईमार्गबाट ५८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागलाई उद्धृत गर्दै सार्वजनिक गरेको तथ्यांकअनुसार अप्रिलमा ५८ हजार ३४८ विदेशी पर्यटक त्रिभुवन विमानस्थल नाका हुँदै नेपाल प्रवेश गरेका छन् ।

यसपालि अप्रिलको पर्यटक आगमन पोहोर अप्रिलको तुलनामा १५९ दशमलव ९ प्रतिशतले बढी हो । पोहोर अप्रिलमा २२ हजार ४५० पर्यटक आएका थिए । गत वर्ष अप्रिल अन्तिम साता कोरोना महामारीको दोस्रो लहर शुरू हुन थालेको थियो । मेको पहिलो साता (वैशाख तेस्रो हप्ता) त नेपाल सरकारले अन्तरराष्ट्रिय उडानमा प्रतिबन्ध लगाइसकेको थियो । ओसेनिया क्षेत्रका पर्यटकको संख्या यसपालि सर्वाधिक बढेको छ । पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार ओसेनिया क्षेत्रमा पर्ने अस्ट्रेलिया र न्युजिल्यान्डबाट आउने पर्यटक संख्या २ हजार ६४१ दशमलव ७ प्रतिशतले बढेको छ । पोहोर अप्रिलमा ती २ मुलुकबाट १०३ जनामात्र नेपाल आएकामा यसपालि बढेर २ हजार ८२४ पुगेको हो । कोरोना महामारी शुरू भएदेखि नै अस्ट्रेलियाले अन्तरराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएका कारण अस्ट्रेलिया आउजाउ सहज थिएन ।

ओसेनियापछि बढी पर्यटक संख्या बढ्नेमा यूरोपेली क्षेत्र परेको छ । यूरोपबाट पोहोर अप्रिलमा २ हजार ५९९ पर्यटक आएकामा यसपालि बढेर १६ हजार ३०० पुगेको छ । यो ५२७ दशमलव २ प्रतिशतको वृद्धि हो । अमेरिका र क्यानडाको आगमन १७२ दशमलव ९ प्रतिशतले बढेको छ । ती दुई मुलुकबाट पोहोर २ हजार ९२५ पर्यटक आएकामा यसपालि ७ हजार ९८२ जना आएका छन् ।

एशियाली मुलुकको पर्यटक आगमन भने ८१ दशमलव ६ प्रतिशतले बढेको छ । एशियाली मुलुकबाट पोहोर अप्रिलमा वर्ष १ हजार १७३ पर्यटक आएकामा यसपालि २ हजार १३० जना आएका छन् । सार्क क्षेत्रको आगमन ७९ दशमलव ५ प्रतिशतले बढेको छ । देशगत रूपमा सबैभन्दा बढी भारतीय आएका छन् ।

गत अप्रिलमा हवाईमार्गबाट नेपाल आउने भारतीयको संख्या २२ हजार ४७७ छ । दोस्रो नम्बरमा अमेरिकी छन् । उक्त अवधिमा ६ हजार ९५४ अमेरिकी नेपाल आएका छन् । तेस्रो नम्बरमा रहेको बेलायतबाट ५ हजार २५२ जना आएका छन् । चौथो र पाँचौं नम्बरमा क्रमश: अस्ट्रेलिया र जर्मनी छन् । अस्ट्रेलियाबाट २ हजार ७२६ र जर्मनीबाट २ हजार ९७ जना नेपाल आएको बोर्डले जनाएको छ ।

यसपालि अप्रिलको आगमनले कोरोना संक्रमण कम भएसँगै पर्यटन क्षेत्र लयमा फर्किन थालेको संकेत गरेको छ । कोरोना महामारीपूर्व सन् २०१९ अप्रिलमा १ लाख ९ हजार ३९९ पर्यटक हवाई मार्गबाट नेपाल आएका थिए । सन् २०२० अप्रिलमा भने १४ जना मात्रै आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको नेपाल पर्यटन तथ्यांक २०२० मा उल्लेख छ । सन् २०२० को अप्रिलमा भने कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले सरकारले बन्दाबन्दी गर्नुका साथै अन्तरराष्ट्रिय उडान रोकेको थियो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्