केवलकारमा सरर सराङकोट, पोखराबाट ९ मिनेटमै पुग्न थालेपछि सूर्योदय र सूर्यास्त हेर्नेको घुईंचो



पोखरा,वैशाख २४ । पर्यटकीय नगर पोखरा पुग्ने जो कोही सूर्योदय हेर्न होस वा हिमाल अवलोकन गर्न होस, सराङकोट नपुगी रहन सक्दैनन् ।

ट्याक्सी वा माइक्रो बसमा सराङकोट पुग्न घण्टौ समय लाग्थ्यो । तर अव भने अन्नपूर्ण केवलकार सञ्चालनमा आएसँगै त्यो दुरी १० मिनेट भन्दा कम समयमा सीमित भएको छ ।

फेवाताल किनार (लेक साइड) बाट सराङकोट पुग्न केवलकारले करीब ३ किलोमिटर दूरी पार गर्नुपर्छ । जुन ९ मिनेटमा पुरा हुन्छ ।

पोखरा महानगरपालिका–१८ को सेदी बगरमा रहेको तल्लो स्टेसनबाट  अन्नपूर्ण केवलकारले सराङकोट डाँडासम्मको दूरी मात्र ९ मिनेटमा तय गरेर पर्यटकहरुलाई थप सुविधा प्रदान गरेको छ ।

केवलकार विहान ५ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुँदा सूर्योदय र सूर्यास्त दुबै अवलोकन गर्नेहरूको भीड नै लाग्ने गरेको छ ।

त्यतिमात्रै नभइ केवलकारबाट फेवाताल, अन्नपूर्ण ,माछापुच्छ्रे लगायतका अन्य हिम श्रृंखला, पुम्दीकोट महादेवको मूर्ति, विश्व शान्ति स्तुपाः, पोखरा शहर लगायतको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

कुल १७ ओटा गोन्डोला रहेकोमा अहिले एउटामा आठ जनासम्म बसेर अवलाकन गर्न सकिन्छ । केवलकारको यात्रा गर्न नेपालीहरुका लागि प्रति व्यक्ति ७ सय, सार्क राष्ट्रका पर्यटकका लागि ८ सय र तेस्रो मुलुकका नागरिकका लागि ९ डलर शुल्क निर्धारण गरिएको छ ।

विद्यार्थीका लागि २५ प्रतिशत छुट छ भने ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका लागि भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

हालसालै केवलकारले स्वदेशी तथा विदेशी पर्यटकहरुको सुविधाका लागि केवलकार स्टेशन रहेको सेदीबगरसम्म पुग्न कम्पनीले पोखराका विभिन्न स्थानबाट निःशुल्क बस सेवा समेत सञ्चालनमा ल्याएको छ । पर्यटकीय नगरी पोखरामा अन्नपूर्ण केवलकारले एक नयाँ आयाम थपेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्