५ महीनामा झन्डै २ लाख पर्यटक



काठमाडौं,जेठ २२ । सन् २०२२ को ५ महीनामा नेपाल आउने विदेशी पर्यटकको संख्या २ लाखनजिक पुगेको छ । गत जनवरीदेखि मेसम्ममा १ लाख ९० हजार ७०३ पर्यटक हवाई मार्ग हुँदै नेपाल आएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

गएको मेमा कतिपय देशबाट कोभिड शुरू हुनुअघिको सोही महीनाको भन्दा बढी पर्यटक आएको तथ्यांक छ । गत मेको कुल आगमन ५३ हजार ६०८ छ ।

सन् २०१९ को पहिलो ५ महीनामा ४ लाख ९२ हजार ६०२ पर्यटक नेपाल आएका थिए । उक्त वर्ष मेमा ७२ हजार १५६ जना आएका थिए । गत मेमा सार्क क्षेत्रबाट ३० हजार ५६६ पर्यटक नेपाल आएका छन् ।

एशियाका अन्य मुलुक चीन, जापान, मलेशिया, म्यानमार, थाइल्यान्डलगायत देशबाट कुल २ हजार २२३ पर्यटक आएका छन् । मेमा यूरोपका बेलायत, डेनमार्क, फ्रान्स, रसिया, बेल्जियम लगायत देशबाट ६ हजार ८९५ पर्यटक आए । क्यानडा र अमेरिकाबाट ८ हजार ३३ र ओसियन मुलुक अस्ट्रेलिया र न्यूजील्यान्डबाट १ हजार ६९४ जना आएका छन् ।

बोर्डको तथ्यांकअनुसार सबैभन्दा बढी पर्यटक भारतबाट २६ हजार ६६२ सय आएका छन् । यो संख्या कोभिड–१९ शुरू हुनुअघिको मेको भन्दा पनि बढी हो । सन् २०१९ को मेमा २४ हजार ७४ भारतीय हवाई मार्गबाट नेपाल थिए । बंगलादेशबाट पनि सन् २०१९ को तुलनामा बढी आएका छन् । सन् २०१९ को मेमा बंगलादेशकाट ९३२ जना आएकोमा यसपालि ३ हजार २६८ जना आएका छन् । अस्ट्रेलियाबाट पनि मेमा उक्त वर्षकै हाराहारी पर्यटक आएका छन् ।

सन् २०१९ को मेमा अस्ट्रेलियाबाट १ हजार ९५३ पर्यटक आएकोमा यसपालि १ हजार ६०६ जना आएका छन् । अमेरिकाबाट आउने पर्यटक संख्यामा भने थोरै बढेको छ । सन् २०१९ मेमा अमेरिकाबाट ७ हजार २६६ पर्यटक आएकोमा यो वर्ष ७ हजार २७४ जना आएका छन् । अन्य देशबाट भने तुलनात्मक रूपमा यो वर्ष मेमा कम पर्यटक आए ।

कोरोनापूर्वको मेमा चीनबाट १० हजार ३२० पर्यटक आएकोमा यो वर्ष ३८८ जनामात्रै आएका छन् । चीनमा कोरोना महामारी अझै चर्किरहेकै छ । भारतपछि चीनलाई बढी पर्यटक आउने देश मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्