‘पर्यटनको प्रचार गर्ने डिजिटल माध्यमको नियमन रणनीति बनाऊ’



काठमाडौं,जेठ् ३१ । नेपालले पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसारका लागि प्रयोग गर्ने डिजिटल माध्यमको नियमन तथा अनुगमनका लागि रणनीति बनाउन सरोकारवालाले सुझाव दिएका छन् । प्रविधिको उच्चतम प्रयोग र सामाजिक सञ्जालमा आउने विषयवस्तु के कसरी प्रस्तुत गर्ने, के कुरा प्रचार नगर्ने भन्ने जस्ता पक्षमा ध्यान दिनुपर्ने सुझाव उनीहरूले दिएका हुन् ।

नेपाल इकोनोमिक फोरमले सोमवार काठमाडौंमा आयोजना गरेको ‘नेफ टक’को ‘पर्यटनमा प्रविधिको युग’ शीर्षक अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस्तो धारणा राखेका हुन् । सो अवसरमा नेपाल पर्यटन बोर्डकी वरिष्ठ निर्देशक नन्दनी लाहे थापाले प्रविधिको विकासले पर्यटनमा पनि अवसर र प्रचारप्रसारको शैलीमा परिवर्तन ल्याएको बताइन् । यसैगरी काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिवल (किम्फ)की निर्देशक राम्यता लिम्बुले पर्यटन प्रचारप्रसार र प्रवर्द्धनका लागि डिजिटल माध्यमहरू सस्तो र कम खर्चिलो हुने बताइन् ।

यस्तै रैथाने तथा होस्टेल नेक्स्टडोरका सहसंस्थापक जोसन शाहले विभिन्न भ्लगहरू बनाएर गन्तव्य प्रचारप्रसार गर्ने युवाको संख्या धेरै रहेको बताए । नेपालमा पर्यटनको बजार ठूलो र अवसर पनि धेरै रहेको उनको भनाइ थियो ।

पर्यटनविज्ञ लिसा च्वोग्यलले कोभिडपछि पर्यटन क्षेत्रमा राम्रो अवसर देखापरेको बताइन् । नेपालमा साहसिक पर्यटनका साथै अन्य धेरै प्रख्यात गन्तव्य रहेको भन्दै उनले गुणस्तरीय प्रडक्ट ल्याउन र पर्यटन सेवामा सुधार गर्न सुझाव दिइन् । अहिले प्याराग्लाइडिङ जस्ता पर्यटकीय गतिविधि बढे पनि पर्यटनका अन्य परिवर्तित विषयमा पनि ध्यान दिन आवश्यक भएको उनले बताइन् । जलवायु परिवर्तनले देखाएका असरका विषयमा पनि पर्यटनका दृष्टिकोणबाट विश्लेषण र सोहीअनुसारको तयारी गर्नुपर्नेमा उनको जोड थियो ।

नेटफ्लिक्सको पब्लिक पोलिसीकी निर्देशक अम्बिका खुरानाले प्रविधिको प्रयोगसँगै कस्ता विषय राख्दा दर्शक आकर्षित हुन्छन् भन्नेमा पनि ध्यान दिन सुझाइन् । ‘कुनै डिजिटल माध्यममा आएका कथावस्तुले दर्शक तथा उपभोक्ताको मनसँग जोडिन सके मात्रै त्यो बिकाउ हुन्छ,’ उनले भनिन् ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्