‘स्वास्थ्य बीमा कार्यक्रम कम्पनीलाई दिइन्न’



काठमाडौं,असार २ । स्वास्थ्य बीमा कार्यक्रम बीमा कम्पनीलाई नदिने स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताएका छन् । हाल स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य बीमा बोर्डले सञ्चालन गरिरहेको उक्त कार्यक्रम बीमा कम्पनीलाई समेत दिने आगामी आवको बजेटमा घोषणा गरिएको थियो ।

बुधवार बजेटका सम्बन्धमा संसद्मा उठेको प्रश्नमाथि जवाफ दिँदै मन्त्री खतिवडाले स्वास्थ्य बीमा कार्यक्रम कम्पनीहरूलाई नदिने बताएका हुन् । स्वास्थ्य बीमा ऐनअनुसार नै उक्त कार्यक्रम सञ्चालन हुने उनको भनाइ छ ।

स्वास्थ्य बीमा ऐनमा बोर्डले नै यो कार्यक्रम सञ्चालन गर्न पाउने व्यवस्था छ । सोही अनुसार स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुने मन्त्री खतिवडाले स्पष्ट पारेका हुन् ।

‘म यो लागू गर्ने पक्षमा छैन, गर्दिनँ पनि । प्रचलित ऐनमा जे व्यवस्था, जे उद्देश्य राखिएको छ । सोही अनुसार नै स्वास्थ्य बीमा अगाडि बढ्छ,’ संसद्मा उनले भने, ‘मङ्सिरसम्म म यहीँ हुन्छु । यहाँहरूले फेरि सोध्न सक्नुहुनेछ ।’

सरकारले यस्तो नीति ल्याएपछि स्वास्थ्य बीमा बोर्डसमेत असन्तुष्ट थियो । विभिन्न सरोकारवालाका साथै संसद्मा बजेटमाथि छलफल गर्ने क्रममा सांसदहरूले समेत यसको विरोध गरेका थिए ।

सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अनुसार पाँचसदस्यीय परिवारले वार्षिक १ लाख रुपैयाँसम्मको औषधोपचार सुविधा पाउँछन् । त्यसबापत उनीहरूले वार्षिक ३ हजार ५०० रुपैयाँ बीमाशुल्क तिर्नुपर्छ । बीमा भनेर नाम दिए पनि सरकारले सामाजिक सुरक्षाको रूपमा यो कार्यक्रम ल्याएको थियो । यसरी सामाजिक सुरक्षाको रूपमा अगाडि बढाइएको कार्यक्रम निजी कम्पनीलाई दिन नहुने सरोकारवालाहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्