मधेश प्रदेशको बजेट : चालूतर्फ २१ अर्ब ७६ करोड र पूँजीगततर्फ २५ अर्ब ८२ करोड



काठमाडौं,असार २ । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/ ८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

बुधवार प्रदेश सभामा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार र पूँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ९५ हजार विनियोजन गरिएको जानकारी दिए ।

उनले प्रस्तुत गरेको बजेटमा चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख अर्थात ४६ दशमलव ४४ प्रतिशत र पूँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार अर्थात् ५३ दशमलव २१ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार रुपैयाँ अर्थात् शून्य दशमलव ३५ प्रतिशत बजेट विनियोजन गरिएको बताएका छन् ।

प्रदेश सरकारले बजेटमा प्रदेश सरकारको बेटी पढाउ, बेटी बचाउ अभियानलाई निरन्तरता दिएको छ भने कक्षा १२ मा अध्ययनरत छात्रालाई कम्प्युटर एवं ल्यापटप वितरणका लागि ७७ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सामाजिक रुपान्तरण तथा लैंगिक सशक्तीकरणका लागि सञ्चालित मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियानअन्तर्गत छोरी बीमा, छात्रवृत्ति, लोकसेवा तयारी कक्षा, साइकल वितरणलगायत छोरीमाथि समाजमा रहेको विभेद अन्त्यका लागि विभिन्न कार्यक्रमलाई निरन्तरता दिइने बजेटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्