घरजग्गा बजारमा ब्याजदर वृद्धिको असर : बैंकले धितोकर्जा व्यवसायबाट निकाल्न थाल्यो कर्मचारी



एजेन्सी,असार १० । अमेरिकी बहुराष्ट्रिय लगानी बैंक तथा वित्तीय सेवा प्रदायक कम्पनी जेपी मोर्गन चेजले घर कर्जा व्यवसायबाट सयौं कर्मचारीलाई कामबाट निकालेको छ ।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ FED ले आक्रामक रुपमा ब्याजदर बढाइरहँदा तातिएको अवस्थामा रहेको घरजगा बजार चिसिन थालेपछि कम्पनीले यही हप्तादेखि लागू हुने गरी कर्मचारी कटौती गरेको हो । कम्पनीले केही कर्मचारीहरुलाई भने नयाँ जिम्मेवारी दिएको छ । 

कम्पनीको पछिल्लो निर्णयबाट हजारभन्दा धेरै कर्मचारी प्रभावित भएको बताइएको छ । जेपी मोर्गनमा विश्वभर २ लाख ७४ हजार ९४८ कर्मचारी कार्यरत छन् । प्रभावितमध्ये आधालाई कामबाट निकालिएको छ भने आधालाई बैंकका अन्य शाखामा स्थानान्तरण गरिएको यस मामिलाबारे जानकार स्रोतले बताएको भन्दै अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले समाचार छापेको छ । 

धितोमा घरजग्गाका लागि ऋण दिने व्यवसायमा चक्रिय परिवर्तनका कारण कर्मचारी कटौती र भूमिका हेरफेरको निर्णय गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा एक जना प्रवक्ताले बताएका छन् । प्रभावित केहीलाई अहिले नै कम्पनीभित्र नयाँ भूमिका दिइएको र बाँकीलाई होल्डिङ कम्पनी वा बाहिर पनि जागिर खोज्न मद्दत गरिने बताइएको छ । 

अहिले अमेरिकामा महँगी ४० वर्षयताकै उच्च स्तरमा उक्लिएको छ । महँगी नियन्त्रण गर्न फेडले धमाधम ब्याजदर बढाइरहेको छ । गत हप्ता मात्रै फेडले एकै पटक ब्याजदर शून्य दशमलव ७५ प्रतिशत अंकले बढाएको थियो । यो ब्याजदरमा गरिएको सन् १९९४ यता ठूलो वृद्धि थियो । सन् २०२१ को जनवरीमा कीर्तिमानी न्यून स्तरमा झरेको ३० वर्षे मोर्टगेज दर अहिले दोब्बरभन्दा माथि पुगिसकेको छ । 

अमेरिकी घरजग्गा बजार सुस्ताउन थालेपछि कम्पास इंक, रेडफिन कर्पोरेशनलगायत अन्य कम्पनीहरुले पनि धमाधम कर्मचारी निकाल्दै छन् । महँगी नियन्त्रण गर्न फेडले ब्याजदर बढाउन थालेपछि अमेरिकामा मोर्टगेज दर अहिले सन् १९८७ यताकै तीव्र गतिमा बढिरहेको छ । यसले नयाँ मोर्टगेजको माग प्रभावित पारेको छ नै रिफाइनान्सिङ बजार पनि मारमा परेको छ । 

पछिल्लो समय अमेरिकामा घरबजार सुस्ताएको छ । अप्रिलको तुलनामा मेमा विद्यमान घरको विक्री ३ दशमलव ४ प्रतिशतले घटेको थियो । योसँगै लगातार चौथो महीना पनि त्यहाँ विद्यमान घरको विक्री घटेको हो । गत महीना पहिलो पटक विद्यमान घरको औसत मूल्य ४ लाख डलर नाघेको थियो । घरको मूल्य बढेको भएपनि घरजग्गा बजार सन् २०१९ को स्तरमै फर्किएको छ ।

प्रतिक्रिया दिनुहोस्