इन्धन मूल्य बढेको निहुँमा मनपरी भाउ



काठमाडौं,असार १० । इन्धनको मूल्यवृद्धि भएर ढुवानी भाडा बढेसँगै अन्य वस्तुको मूल्य बढ्ने प्रक्रिया स्वाभाविक भए पनि व्यवसायीले इन्धन महँगिएको भोलिपल्टैदेखि गोदामका सामानको भाउ बढाउन थालेका छन् ।

नेपाल आयल निगमले आइतवार रातिदेखि पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा २७ रुपैयाँ मूल्यवृद्धि गरेको थियो । निगमले इन्धनको मूल्य बढाएसँगै यातायात व्यवस्था विभागले स्वचालित मूल्य प्रणालीअनुसार अन्तरप्रदेश चल्ने यात्रुबाहक र मालबाहक सवारीको भाडादर ५ दशमलव ३० प्रतिशतदेखि ७ दशमलव ७ प्रतिशतसम्मले बढाएको छ । विभागले सोमवारदेखि ढुवानी भाडा बढाएपछि व्यापारीले त्यसैको मौका छोप्दै भोलिपल्टैदेखि बजारमा दैनिक उपभोग्य र अन्य वस्तुको मूल्य बढाएको पाइएको छ । व्यापारीले २/३ महीनादेखि गोदाम र पसलमा मौज्दात राखेका वस्तुको समेत मूल्य बढाएका छन् । 

खुद्रा व्यापार संघको मूल्यसूचीमा चिनीको खुद्रा मूल्य किलोको १ सय ५ रुपैयाँ तोकिएको छ । तर, बजारमा त्यही चिनी १ सय १० रुपैयाँ किलोसम्ममा विक्री भएको पाइएको छ । १ सय ७५ रुपैयाँ किलोको मसुरोको दालमा ५ रुपैयाँ बढाएर १ सय ८० रुपैयाँ पुर्‍याइएको छ । ३ सय ८० रुपैयाँ लिटरको तोरीको तेल बजारमा ३ सय ८५ देखि ३ सय ९० रुपैयाँमा विक्री हुन थालेको छ ।

बुधवार कालीमाटी बजारमा खाद्यान्न किनमेल गर्न आएकी शर्मिला गौतमले १ किलो रहर दाल १ सय ९० रुपैयाँमा र १ लिटर भटमास तेल ३ सय ४० रुपैयाँमा किनेको बताइन् । तर, नेपाल खुद्रा व्यापार संघले दिएको जानकारीअनुसार अहिले रहर दालको मूल्य प्रतिकिलो १ सय ८० देखि ८५ रुपैयाँ र भटमास तेलको प्रतिलिटर ३ सय ३० रुपैयाँ छ । ‘बजार भाउबारे हामीलाई थाहा हुँदैन । किन यति महँगो भनेर सोध्दा पेट्रोल, डिजेलको मूल्यले आकाश छोइसक्यो अझ मूल्य बढ्छ भनेर व्यापारीले उल्टै हर्काछन् । किनेर खानै नसकिने भयो,’ उनले भनिन् । 

उनी जस्तै बजारमा मनपरी मूल्यको मारमा पर्ने अन्य धेरै छन् । कीर्तिपुरमा भेटिएका रुपेश बस्नेतले केही दिनअघि ३ सय ५० रुपैयाँ प्रतिलिटर रहेको सनफ्लावर तेल ३ सय ६० रुपैयाँ लिटरमा किनेको बताए । तेल, चामल, मैदा, आँटामा भन्दा पनि तरकारीमा त झन् पसलैपिच्छे मूल्य फरक भएको अनुभव उनले सुनाए । कालीमाटी फलफूल तथा तरकारी बजारको दैनिक मूल्यसूचीअनुसार खुद्रा मूल्य ३० रुपैयाँ किलो रहेको गोलभेडाको भाउ ६० रुपैयाँ पुगेको छ । ५० रुपैयाँ किलोको तितेकरेलालाई ८० रुपैयाँसम्म लिन थालेका छन् । ४० रुपैयाँ किलोको भिण्डीको भाउ ६० रुपैयाँ पुगेको छ । 

खुद्रा व्यापार संघका महासचिव अमूलकाजी तुलाधरले यसबारे संघमा कुनै गुनासो नआएको बताए । यद्यपि हिजो इन्धनको मूल्य बढ्यो त्यसैले आजदेखि म सामानको मूल्य बढाएर बेच्छु भनेर कोही व्यापारीले सोच्छ वा गर्छ भने त्यस्तो गलत प्रवृत्तिलाई रोक्नुपर्ने उनको भनाइ छ । ‘हामीकहाँ कस्तो प्रवृत्ति छ भने रुस–युक्रेन युद्ध भयो वा बजारमा इन्धनको मूल्य बढ्यो भने अर्को दिनदेखि मूल्यमा त्यसको असर देखिन थाल्छ । हामीले बेचिरहेको सामान पहिल्यैदेखि गोदाममा स्टक रहेको हुन्छ,’ उनले भने । इन्धनको मूल्य बढेको भोलिपल्टदेखिनै मनोमानी मूल्य वृद्धि गर्ने प्रवृत्ति रोक्न र मूल्य प्रणालीलाई सहज बनाउन स्वचालित मूल्य प्रणाली अपनाउनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्