कर्णालीमा पहिलोपटक ४०० केभीको प्रसारणलाइन निर्माण अघि बढ्यो, २६०० मेगावाट प्रसारण क्षमता



१२१ किलोमिटर लामो प्रसारणलाइनमा करीब ४०० टावर निर्माण हुने, ४ वर्षमा सक्ने लक्ष्य

काठमाडौं,असार १५ । कर्णाली नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि फुकोट-कर्मादेव ४०० केभी डबल सर्किट प्रसारणलाइनको निर्माणअघि बढेको छ ।

कर्णाली प्रदेशको फुकोट (कालिकोट) देखि सुदूरपश्चिम प्रदेशको कर्मादेव (कैलालीको नेपाल भारत सीमा) सम्म १२१ किलोमिटर लामो ४०० केभीको प्रसारणलाइन राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले निर्माण गर्न लागेको हो ।

वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) समेत भइसकेको आयोजना आगामी आर्थिक वर्षदेखि निर्माणमा जाने राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नेत्रप्रसाद ज्ञावलीले बताए ।

कम्पनीले यस अघि थप दुई आयोजनाको ईआईए सम्पन्न गरेको भएपनि पहिला निर्माणमा जाने आयोजना भने फुकोट-बेतन-दोदोधरा-कर्मादेव ४०० केभी प्रसारणलाइन आयोजना हुने ज्ञावलीले बताए ।

आयोजना अन्तर्गत फुकोट, बेतन र दोदोधरामा गरी ३ ओटा सवस्टेशन पनि निर्माण गरिने छन् ।

निर्माणमा जाने तयारीमा रहेको ४२६ मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजनादेखि ९०० मेगावाटको माथिल्लो कर्णाली र ४३९ मेगावाटको बेतन कर्णालीको विद्युत यहि प्रसारणलाइनबाट प्रवाह हुने छ ।

कर्णाली नदि बेसिनमा निर्माण हुने अन्य आयोजनासमेत गरि कुल २ हजार ६०० मेगावाट विद्युत उक्त प्रसारणलाइनले प्रवाह गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्