जुटाउने नाममा फेरि फुट



काठमाडौं, असार १५ । पुराना कम्युनिस्ट नेताहरू हाल नेपालमा कतिवटा कम्युनिस्ट पार्टी छन् भन्ने सङ्ख्या नै यकिन नरहेको बताउन्छन् । २००६ मा पुष्पलाल श्रेष्ठलगायतले स्थापना गरेको कम्युनिस्ट पार्टीमा फुटको शृङ्खला जारी रहँदा यस्तो अवस्था आएको हो ।

वि सं २००६ मा भारतको कोलकातामा रहेका पुष्पलाल श्रेष्ठले नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिएका थिए । त्यसअघि २००५ चैत २३ गते उनले ‘कम्युनिस्ट घोषणापत्र’को नेपाली अनुवाद प्रकाशन गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी २००६ वैशाख १० गते भारतकै कोलकातामा नेकपाको स्थापना भएको भए पनि भदौ ३० गते स्थापनाको जानकारी सार्वजनिक भयो । संस्थापक पुष्पलालसहित केन्द्रीय कमिटीमा मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय, डीपी अधिकारी र अयोध्या सिंह थिए ।

स्थापनाकालदेखि नै विवादमा परेको कम्युनिस्ट पार्टी त्यसयता एकीकरण र मातृ पार्टी कम्युनिस्ट विचारधाराबाट विचलित भएको भन्दै फुटको शृङ्खला चल्दै आएको छ । कम्युनिस्ट पार्टीमा पहिलो पटक केशरजङ्ग रायमाझीका कारण २०१९ मा फुट आएको थियो । कम्युनिस्ट पार्टीलाई एक बनाउने अभियान पनि बेलाबखत नभएको होइन तर एक हुनेभन्दा फुट्ने प्रवृत्ति नै मौलाएको छ । निर्वाचन आयोगमा कम्युनिस्टकै नाममा दर्ता भएका पार्टी मात्र १४ वटा छन् । आयोगमा दर्ता भएका कुल दलको यो १२.५ प्रतिशत हो ।

सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दल पाँचवटा छन् । त्यसमध्ये नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेपाल मजदुर किसान पार्टी संसदीय दलको मान्यता प्राप्त हुन् । राष्ट्रिय जनमोर्चाले संसदीय दलको मान्यता पाएको छैन तर प्रतिनिधित्व छ ।

यस अतिरिक्त कम्युनिस्ट विचारधारा बोकेका अन्य दलको नाममा ‘कम्युनिस्ट’ नभए पनि आयोगमा दर्ता भएर अस्तित्वमा छन् भने कतिपय सङ्गठन आयोगमा दर्ता नभए पनि कम्युनिस्ट विचारधारालाई आत्मसात् गरेर गतिविधि गर्दै आएका छन् ।

मोहन वैद्यले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंहले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (मसाल) अस्तित्वमा रहे पनि आयोगमा दर्ता भएको छैन । त्यसैगरी माओवादी जनमुक्ति पार्टी नेपाल, जनताको जनवादीलगायतका दल आयोगमा दर्ता रहेका छन् ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्