बाढीले बगाउँदा १ को मृत्यु, सयौं घरपरिवार विस्थापित



विराटनगर, असार १५ । लगातारको वर्षाका कारण आएको बाढीले बगाउँदा मोरङमा एक जनाको मृत्यु भएको छ भने देशका विभिन्न भागमा सयौं घरपरिवार डुबानमा परेका छन् ।

मोरङको सुन्दरहरैँचा वडा नम्बर ६ मा गछिया खोलाले बगाउँदा सोही ठाउँका ५८ वर्षीय रामबहादुर बिकको मृत्यु भएको छ ।

खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा उनलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यस्तै, विराटनगर महानगरको वडा नम्बर १, २, ४, ६, ७, ८, ११, १२, १६ र १९ का सयौं घरपरिवार डुबानमा परेका छन् ।

विराटनगरको सिंघिया र केशलिया नदीमा आएको बाढी गाउँ पसेपछि यहाँका करिब १५ सय घरपरिवार डुबानमा परेका हुन् । मोरङका खोला आसपासमा रहेका पालिकाहरू बाढीको उच्च जोखिममा छन् ।

मोरङको विराटनगरसहित सुनवर्षी नगरपालिका, केराबारी गाउँपालिका, बेलबारी नगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान र बुढीगंगा गाउँपालिकाका विभिन्न बस्ती बाढीले डुबानमा पारेको छ ।

बाढी जोखिममा परेका पालिकाहरूले उद्धार र राहतको कार्यलाई तीव्र बनाएका छन् भने प्रहरीहरू उद्धार कार्यमा खटिरहेका छन् ।

यो समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्