प्रधानमन्त्रीसँग सिबिफिनले गर्याे छलफल, आर्थिक सुधार गर्न निजी क्षेत्रसँग हातेमालो गर्न तयार



काठमाडौं,असार १६ । देशको आर्थिक अवस्था सुधार गर्नका लागि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले प्रधानमन्त्री शेर बहादुर देउवासँग छलफल गरी सुझाव पेश गरेको छ । सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेर बहादुर देउवासँग छलफल गरी सुझाव पेश गरेको हो । सरकारले ल्याएको आर्थिक वर्ष २०७९–८० को बजेट कार्यान्वयन तर्फ गईरहेको र नेपाल राष्ट्र बैंकले समेत आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति तर्जुमा गरिरहेको बेला सिबिफिनले प्रधानमन्त्री देउवालाई भेटेर सुझाव पेश गरेको हो । देशको वर्तमान आर्थिक अवस्था सुधारका लागि नीतिगत कदमहरु चाल्न सिबिफिनको प्रतिनिधि मण्डलले माग गरेको छ ।

सिबिफिनले वरिष्ठ अर्थशास्त्री तथा बैंकिङविद्हरुको सहकार्यमा अध्ययन गरी तयार गरेका बैंक तथा वित्तीय संस्थाका अप्ठारा र चुनौतिहरु र सम्बोधनका लागि सुझावहरु–०७८, तरलता अभावका कारण र समाधानका लागि सुझावहरु–०७८, विप्रेषण र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागसँगको सहकार्यमा तयार गरेको बैंक तथा वित्तीय क्षेत्रबाट निजी क्षेत्रमा प्रवाह भइरहेको कर्जाले नेपालको व्यापार घाटामा प्रभाव–०७९, लगायतका सुझावसहितका प्रतिवदेनहरु प्रधानमन्त्री देउवालई बुझाएको हो । साथै वर्तमान समयमा देखिएका आर्थिक एवं वित्तीय क्षेत्रका समस्याहरुलाई संकलन गरि तयार पारिएको तीनमहले सुझाव समेत प्रधानमन्त्री देउवालाई बुझाएको सिबिफिनले बताएको छ ।

सिबिफिनका अध्यक्ष गोल्यानले कोरोना महारमारी र विश्वमा घटेका विभिन्न घटनाक्रमबाट नेपालको अर्थतन्त्रमा समस्यामा परेको र उक्त समस्या समाधान गर्न आग्रह गरेका थिए । उनले समस्याग्रस्त उद्योग व्यवसायहरुको पुनरुत्थान, घरेलु, साना तथा मझौला उद्योगहरुको स्तरोन्नति, तरलताको समस्या समाधान, विप्रेषणको व्यवस्थापन, आयात–निर्यातबीचको असन्तुलन, बढ्दो व्यापार घाटा, उत्पादन तथा रोजगारीमा वृद्धि, निर्यात प्रवद्र्धन र उद्यमशिलताको विकाससहित बजेटले प्रक्षेपण गरेको ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने विषयमा समेत जानकारी गराएका थिए । अध्ययन प्रतिवेदनहरुले औल्याएका निष्कर्ष एवं सुझावहरुको सम्बोधन तथा कार्यान्वयनका लागि आवश्यक पहल गर्न सिबिफिनका अध्यक्ष गोल्यानले प्रधामन्त्रीसमक्ष आग्रह गरे । सिबिफिनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले समेत प्रतिवेदनको निष्कर्ष तथा सुझावहरुको वारेमा संक्षिप्त जानकारी गराएका थिए ।

प्रधानमन्त्री देउवाले सिबिफिनले प्रस्तुत गरेका सुझाव र प्रतिवेदनहरुले औल्याएका कृषि क्षेत्रको सुधार, व्यापार घाटा न्यूनिकरण तथा आयात प्रतिस्थापनका उपायहरु र निर्यातजन्य वस्तुहरु, लगानीका लागि पूँजी निर्माण तथा परिचालन जस्ता विषयहरुमा विशेष जिज्ञासा राखेका थिए । वर्तमान अवस्थामा देखिएका समग्र चुनौतिहरुको सामना गर्न र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाल सरकार निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रधानमन्त्री देउवाले आश्वासन दिए ।

छलफलमा राज्यमन्त्री उमेश श्रेष्ठ, सिबिफिनका तर्फबाट उपाध्यक्ष राजेश उपाध्याय, महासचिव केशवबहादुर रायमाझी, सचिव कुशकुमार मल्ली, महानिर्देशक गोपाल प्रसाद तिवारी र सेन्चुरी कमर्सियल बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ समेत सहभागि भएका थिए ।

प्रतिक्रिया दिनुहोस्