लघुवित्तको न्यूनतम ब्याजदर नै १५ प्रतिशत



काठमाडौं,असार १७ । गरीब तथा विपन्न वर्गलाई वित्तीय सेवा दिने लघुवित्त वित्तीय संस्थाको न्यूनतम ब्याजदर नै १५ प्रतिशत पुगेको छ । बजारमा तरलता अभावसँगै लागत बढेको भन्दै लघुवित्त संस्थाहरूले ऋणको ब्याजदर नेपाल राष्ट्र बैंकले तोकेको अधिकतम सीमासम्म पुर्‍याएका हुन् ।

राष्ट्र बैंकले गतवर्षदेखि लघुवित्तले अधिकतम १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने गरी सीमा तोकेको छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेपछि लघुवित्तले न्यूनतम ब्याजदर नै माथिल्लो सीमामा पुर्‍याएका हुन् ।

राष्ट्र बैंकले प्रकाशित गरेको लघुवित्तहरूको ब्याजदरसम्बन्धी प्रतिवेदनमा खुद्रा कर्जा प्रवाह गर्ने ६१ लघुवित्तमध्ये ३५ ओटाको ब्याजदर १५ प्रतिशत पुगेको उल्लेख छ । यीबाहेकका संस्थामा पनि अधिकांशको न्यूनतम ब्याजदर १० प्रतिशतभन्दा माथि छ ।

बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गलाई अनिवार्य रूपमा लगानी गर्नुपर्ने कर्जा थोकमा लिएर लघुवित्तले कर्जा प्रवाह गर्दै आएका छन् । बैंकहरूकै ब्याजदर १५ प्रतिशतसम्म कायम भएकाले राष्ट्र बैंकले तोकेको सीमाभित्र बसेर काम गर्न कठिन भएको नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले बताए । ‘अहिले हामीले बैंकबाट लिने कर्जाको ब्याजदर नै १५ प्रतिशतसम्म पुगेको छ,’ उनले भने, ‘यो अवस्थामा लघुवित्तको ब्याजदर बढ्नु स्वाभाविक हो ।’ लघुवित्त संंस्थालाई सस्तो ब्याजदरमा पूँजी उपलब्ध हुनुपर्ने भन्दै संघले बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा प्रवाह गर्नुपर्ने कर्जा लघुवित्तलाई दिँदा आधार दरमा अधिकतम १ प्रतिशतमात्र प्रिमियम जोड्न पाउने व्यवस्था गर्न राष्ट्र बैंकमा मागपत्र बुझाइसकेको छ ।

राष्ट्र बैंकका अनुसार हाल चारओटा थोक र ६१ ओटा खुद्रा कर्जा दिने गरी ६५ ओटा लघुवित्त सञ्चालनमा छन् । यी संस्थाले १३ लाख २९ हजार समूह निर्माण गरी ५७ लाख ७२ हजार जनालाई वित्तीय सेवा दिएका छन् । लघुवित्त संस्थाको कर्जा तथा सापटी २०७८ असारको तुलनामा २३ दशमलव ५३ प्रतिशतले बढेर २०७८ चैत मसान्तमा ३ खर्ब ९२ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।

लघुवित्तको कुल कर्जामध्ये झन्डै आधा कृषिक्षेत्रमा प्रवाह भएको छ । २०७८ चैतसम्ममा लघुवित्तले प्रवाह गरेको कुल कर्जामध्ये ४६ दशमलव शून्य २ प्रतिशत कृषिक्षेत्रमा गएको छ । २०७८ असारमा यस क्षेत्रको कर्जाको अंश ४४ दशमलव ८२ प्रतिशत थियो । यसैगरी लघुवित्तले घरेलु तथा लघु उद्योगमा ३ दशमलव ४१ प्रतिशत र सेवा व्यवसाय क्षेत्रमा ३० दशमलव ८९ प्रतिशत कर्जा प्रवाह गरेका छन् ।

कर्जा प्रवाह वृद्धि भए पनि बजारमा तरलता अभावसँगै लघुवित्तको लगानीमा भने गिरावट आएको छ । लघुवित्तले बैंकहरूको मुद्दती निक्षेप र शेयर तथा डिबेन्चरमा गरेको लगानी घटाएर कर्जा प्रवाहमा जोड दिएका हुन् ।

राष्ट्र बैंकका अनुसार २०७८ चैत मसान्तमा लघुवित्तको कुल लगानी २०७८ असारको तुलनामा ५६ दशमलव २७ प्रतिशतले घटेर ६ अर्ब ४३ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्ष (आव) को सोही अवधिमा कुल लगानी ४४ दशमलव ७७ प्रतिशतले बढेको थियो । मुद्दती निक्षेपमा लगानी रहेको रकम कर्जा प्रवाहका लागि प्रयोग भएका कारण समग्र लगानी घटेको राष्ट्र बैंकले जानकारी दिएको छ । लघुवित्तले मुद्दती निक्षेपमा २०७८ चैतसम्म ४ अर्ब ८० करोड रुपैयाँ राखेका छन् । यो रकम २०७८ असारको तुलनामा ६४ दशमलव शून्य १ प्रतिशतले कम हो ।

यसैगरी लघुवित्तले शेयर तथा डिबेन्चरमा गरेको लगानी पनि घटेको छ । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिबाट लघुवित्तलाई शेयर तथा डिबेन्चरमा लगानी गर्न रोक लगाएको छ ।

ब्याजदर वृद्धि र तरलता अभावको असरले लघुवित्त संस्थाको नाफा प्रभावित भएको छ । आव २०७७/७८ को तेस्रो त्रैमाससम्ममा लघुवित्त संस्थाको खुद नाफा ७ अर्ब ९७ करोड रहेकोमा चालू आवको सोही अवधिमा १ दशमलव १८ प्रतिशतले बढेर ८ अर्ब ६ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्