सडकको पहिरो पन्छाउन २१८ उपकरण तयारी अवस्थामा

काठमाडौं,असार १७ । वर्षायाममा बाढीपहिरोका राजमार्ग र सडकमा आउने अवरोध हटाउन सडक विभागले देशभर २१८ थान उपकरण परिचालन गरेको जानकारी दिएको छ ।
विभागका अनुसार हाल ९३ उपकरण विभिन्न साइटमा परिचालन गरिएको छ । बाँकी उपकरण तयारी अवस्थामा छन् । पहिरो पन्छाउन लोडर, एस्काभेटर, ब्याकहो लोडर, डोजर जस्ता १४३ उपकरण तयारी हालतमा राखिएको छ । ७५ ओटा सहायक उपकरण छन् । सडकमा आउने अवरोध पन्छाउन विभागअन्तर्गतका सडक डिभिजन तथा योजना कार्यालयहरूले संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयहरू मातहतका हेभी इक्विपमेन्ट डिभिजनहरूसँग रहेका उपकरण परिचालन गर्दै आएका छन् ।
पहिरोको जोखिमयुक्त क्षेत्रमा ती उपकरण परिचालन गर्नुका साथै अन्य उपकरण विभागका विभिन्न कार्यालयमा तयारी अवस्थामा राखिएको बताइएको छ । हेभी इक्विपमेन्ट डिभिजन काठमाडौं, पोखरा, हेटौंडा, जनकपुर, बुटवल, नेपालगञ्ज र सुर्खेतमा उपकरणहरू तयारी अवस्थामा छन् । विभागका अनुसार नेपालगञ्ज डिभिजनमा एयर कम्प्रेसर ब्याकहो लोडर, डोजर, ट्रक, टिपर र अन्य गरी ३३ उपकरण तयारी अवस्थामा छन् ।
हेभी इक्विपमेन्ट डिभिजन बुटवलमा एस्काभेटर, लोडर र अन्य गरी २७ उपकरण तयारी अवस्थामा छन् । पोखरामा २९, काठमाडांैमा ३८, हेटौंडामा २३ र जनकपुरमा १५ ओटा उपकरण तयारी अवस्थामा राखिएको विभागले जानकारी दिएको छ । वर्षायाममा पहिरोका कारण सडकहरू अवरूद्ध हुन्छन् ।