नेपालले २८ दिनमै निर्यात गर्‍यो पौने २ अर्बको विद्युत्, किनेको भन्दा दोब्बर मूल्यमा निर्यात



काठमाडौं,असार १७ । नेपाल विद्युत् प्राधिकरणले २८ दिनमै पौने २ अर्ब रुपैयाँको विद्युत् भारत निर्यात गरेको छ ।

प्राधिकरणले जुन २ तारिकदेखि ३० तारिकसम्म १ अर्ब ७२ करोड रुपैयाँको विद्युत् भारत निर्यात गरेको प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सिनाले जानकारी दिएका छन् ।

तिम्सिनाले सामाजिक सञ्जालमा सेयर गरेको तथ्याङ्क अनुसार २८ दिनमा १७८.२ गिगावाट आवर अर्थात १७ करोड ८२ लाख युनिट ऊर्जा भारतमा निर्यात भएको छ ।

प्राधिकरणले निर्यात गरेको विद्युतको औषत मूल्य करीब १० रुपैयाँ हाराहारी छ । जुन प्राधिकरणले निजी क्षेत्रका आयोजनाबाट किन्ने दरको दोब्बर भन्दा धेरै हो । प्राधिकरणले वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा विद्युत् खरीद गर्ने गरेको छ ।

यहि अनुपातमा नेपालले विद्युत् निर्यात गर्न सके यसै वर्ष ठूलो परिमाणमा विद्युत् निर्यात गर्न सक्ने देखिएको छ ।

अहिले दैनिक औषत सवा ६ करोड रुपैयाँको विद्युत् भारत निर्यात भइरहेको छ । भारतले थप विद्युत् निर्यातको अनुमति दिएमा नेपालले दैनिक १० करोड र मासिक ३ अर्ब रुपैयाँको विद्युत् निर्यात गर्न सक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्