ओली–गौतम छलफल सकारात्मक



काठमाडौं, असार १७ । विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि छलफल सुरु भएको छ । एकअर्कालाई नरुचाउने नेताहरू अब एकै ठाउँ बसेर कम्युनिस्ट एकीकरणबारे वातावरण बन्दै गएको छलफलमा सहभागी नेताले जनाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान संयोजक बामदेव गौतमबीच बिहीबार छलफल भएको छ । भक्तपुरस्थित ओली निवास बालकोटमा भएको भेटघाटमा कम्युनिस्ट पार्टी एकीकरणबारे छलफल भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान सचिवालय सदस्य एवं प्रवक्ता निमकान्त पाण्डेले ओली र गौतमबीच विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टी एकीकरण विषयमा भएको छलफल सकारात्मक रहेको बताए ।

‘हाम्रो पार्टीको नीतिअनुसार नै छलफल भएको छ । कम्युनिस्ट पार्टी एकीकरण अभियानमा छौं । सोही अभियानअन्तर्गत कमरेड केपी ओली र कमरेड वामदेवबीच छलफल भएको छ,’ पाण्डेले भने, ‘दुवै नेता कम्युनिस्ट पार्टीबीच एकीकरणबारे सकारात्मक नै हुनुहुन्छ । हामी सके एकीकरण गरौं, नसके चुनावी वाम गठबन्धन गर्नुपर्ने पक्षमा छौं ।’

एमाले अध्यक्ष ओलीलाई भेटेका गौतम कम्युनिस्ट पार्टीका अन्य शीर्ष नेता भेटेर एकीकरण विषयमा छलफल गर्ने एजेन्डा रहेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसहित शीर्षनेतालाई गौतमले भेटरै एकीकरणबारे छलफल गर्नेछन् ।

अभियानका प्रवक्ता पाण्डेले तीन ठूलाका साथै अन्य साना कम्युनिस्ट पार्टीका नेतालाई समेत एकीकरणमा सहभागी गराउने उद्देश्य अभियानमा जोडिने बताए । अभियान घोषणा समयमै विभिन्न साना पाँच कम्युनिस्ट पार्टीबीच एकीकरण घोषणा गरिने बताएको पाण्डे सुनाउँछन् ।

गत मंगलबार गौतमले आफ्नै संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए । सोही क्रममा विभिन्न साना पाँच कम्युनिस्ट पार्टीबीच समेत एकीकरण गरिएको थियो ।

आगामी तीन महिनासम्म कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि पहल जारी राख्ने रणनीति गौतमको छ । एकीकरण हुन नसकेको अवस्थामा पार्टी निर्वाचन आयोगमा दर्ता गरेर वाम गठबन्धन गरी आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी हुने योजना गौतमले बनाएका छन् ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्