जसपामा किचलोः सहमतिमै छुट्टिने



काठमाडौं, असार १७। जनता समाजवादी पार्टी (जसपा) को विवाद उत्कर्षमा पुगेका बेला संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई र कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवबीच गालीगलौज नगरी छुट्टिन ‘जेन्टलमेन एग्रिमेन्ट’ (भद्र सहमति) भएको छ। यद्यपि भद्र सहमति भएको भोलिपल्टै भट्टराई र यादव पक्षनिकट नेताहरू भने आरोपप्रत्यारोपमा उत्रिसकेका छन्। यस्तो परिस्थितिबीच अध्यक्ष यादवले यही असार २७ र २८ गते वीरगन्जमा केन्द्रीय समितिको बैठक बोलाएका छन्।

बुधबार साँझ भट्टराई र यादवबीच ‘वान टु वान’ भेटवार्ता भएको थियो। भेटवार्ता सकिएलगत्तै यादवले संसदीय दलको अनौपचारिक बैठक बोलाएका थिए। जसपाको कार्यकारिणी समितिका सदस्य तथा राष्ट्रियसभा सदस्य मिर्गेन्द्रसिंह यादवका अनुसार सो बैठकमा अध्यक्ष एवं संसदीय दलका नेता यादवले भनेका थिए, ‘भट्टराईज्यूसँग भेट भयो। उहाँले एक अर्कालाई गालीगलौज नगरी सौहार्दपूर्ण ढंगबाट छुट्टिने प्रस्ताव राख्नुभएको छ।’

उक्त बैठकमा भट्टराई र उनीनिकट सांसदहरू महेन्द्र यादव र राजकिशोर यादवलाई भने बोलाइएको थिएन। भट्टराई निकट नेतृ अमृता अग्रहरी भने बैठकमा सहभागी भएकी थिइन्। ‘छुट्टिने अवस्था आयो भने एक अर्कालाई गालीगलौज नगरी सौहार्दपूर्ण वातावरणमा छुट्टिने कुरा आएको हो। तर अहिले नै छुट्टिने भन्ने कुराचाहिँ भएको होइन,’ भट्टराई निकट कार्यकारिणी सदस्य डम्मर खतिवडाले भने।

तर भट्टराई निकट अर्का कार्यकारिणी सदस्य प्रशान्त सिंहले भने सौहार्दपूर्ण ढंगबाट छुट्टिने भनेर भट्टराईबाट प्रस्ताव नै नआएको दाबी गरे। उनले भने, ‘यादवज्यूबाट अतिरञ्जित प्रचार भइरहेको छ ।’ यादवले नै पार्टीलाई मुठभेडतिर लैजान खोजेको उनको आरोप छ। ‘कार्यकारिणी अध्यक्षज्यूले नै पार्टीलाई मुठभेडतिर लैजान खोज्नुभएको छ। यो दुर्भाग्य हो,’ उनले भने।

स्रोतका अनुसार बुधबार बोलाइएको संसदीय दलको अनौपचारिक बैठकमा अध्यक्ष यादवले भट्टराई र आफूबीच भएको कुराकानीबारे ब्रिफिङ गर्दै भनेका थिए, ‘भट्टराईज्यूले नयाँ शक्तिबाट आएका साथीहरू जसपामा एडजस्ट हुन नसकेको बताउनुभयो। उहाँले सौहार्दपूर्ण ढंगबाट अलगअलग हुने प्रस्ताव राख्नुभएको छ।’ कुराकानीपछि आफूहरू छुट्टिने बेला पनि अत्यन्त सौहार्दपूर्ण किसिमले छुट्टिएको र भेटवार्तामा कुनै विवाद नभएको यादवले जानकारीदिएका थिए।

यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्