बल्ल स्थानीय निर्वाचन समीक्षामा जुट्दै कांग्रेस



काठमाडौं, असार १७। प्रदेश र प्रतिनिधिसभा निर्वाचन तयारीमा जुट्नुपर्ने बेलामा नेपाली कांग्रेसले वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको समीक्षाका लागि बैठक बोलाएको छ। स्थानीय तहको निर्वाचन सम्पन्न भएको दुई महिना हुनै लाग्दा कांग्रेसले समीक्षाका लागि असार २७ गते केन्द्रीय समितिको बैठक बोलाएको हो। बैठक बोलाएको मितिसम्म सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरिसक्ने सम्भावना रहेको निकट स्रोतको दाबी छ।

मिति नै घोषणा नभए पनि कात्तिक अन्तिम वा मंसिर पहिलो साता निर्वाचन गर्नेगरी सरकारले तयारी थालेका बेला कांग्रेसले भने निर्वाचन तयारीमा कुनै पहल थालेको छैन। गठबन्धनको आडमा स्थानीय तह निर्वाचनमा ३ सय २९ स्थानमा प्रमुख पद हात पारे पनि समग्रमा परिणाम कांग्रेसका लागि सन्तोषजनक छैन। प्रदेश र प्रतिनिधिसभा निर्वाचन पनि गठबन्धनकै जोडमा प्रतिस्पर्धा गर्ने कांग्रेस रणनीति देखिन्छ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको समितिले पनि पार्टी संगठन मजबुत भएरभन्दा गठबन्धनबीचको तालमेलले स्थानीय तहमा धेरै सिटमा जित निकाल्न सफल भएको निष्कर्ष निकालेको छ। आगामी निर्वाचनमा पनि तालमेलकै पक्षमा देखिएको खड्का नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा लेखिएको छ, ‘स्थानीय तहमा निर्वाचन जित्न कांग्रेसको एकल शक्ति अपुग हुने स्थितिमा गठबन्धन परिणाममुखी बन्यो। स्थानीय निर्वाचन परिणामले कांग्रेस र प्रतिस्पर्धी पार्टीको मत झन्डै बराबरीको अवस्थामा आउनुले पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट संख्या बढाउन शक्ति सन्तुलनलाई ख्याल गरी गठबन्धन गर्नु आवश्यक देखिन्छ।’

पार्टी संगठनलाई परिचालित गरी जनभावनाअनुसार अघि बढ्नुको साटो कांग्रेस नेतृत्वको ध्यान गठबन्धनलाई टिकाइराख्ने र यसकै बलमा आगामी चुनावमा पनि प्रतिस्पर्धा गर्नेमै केन्द्रित देखिन्छ। खड्का समितिको प्रतिवेदनमा भनिएको छ, ‘कांग्रेस नेतृत्वमा गठबन्धन हुँदा राष्ट्रिय एकता कायम भएको सकारात्मक सन्देश समेत प्रवाह भएको छ।’

यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्