संकटमा मैदा मिल



विराटनगर,असार १८ । भारतले गहुँ निकासीमा प्रतिबन्ध लगाएपछि विराटनगर भन्सारबाट गहुँ आयात शून्यमा झरेको छ । गहुँको सट्टा मैदा र आटाको आयात शुरू भएको छ । भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाउनुअघि तयारी आटा र मैदा भन्सारको ग्रीन च्यानलबाट नेपाल भित्रिएको थिएन । 

वैशाख अन्तिम सातातिर भारतले गहुँ उत्पादन लक्ष्यभन्दा कम भएको भन्दै निकासीमा प्रतिबन्ध लगायो । भारतले फिजीमा भने गहुँ निर्यात गरिरहेको छ । भारतले छिमेकी मुलुकलाई आवश्यकता परे परिमाण तोकेर दिन सकिने बताएको छ । तर, नेपालले गहुँ ल्याउन कूटनीतिक पहल नगर्दा ३६ ओटा स्वदेशी मैदा मिल संकटमा परेका छन् । 
विराटनगर भन्सार कार्यालयका प्रवक्ता रामचन्द्र ढुंगानाका अनुसार भारतले गहुँ निकासीमा प्रतिबन्ध लगाएपछि नेपालमा आयात रोकिएको छ । त्यसपछि मैदा र आँटाको आयात शुरू भएको उनले बताए । गत जेठमा ३१ लाख ४८ हजार रुपैयाँ मूल्यको ८० मेट्रिक टन गहुँको पिठो आयात भएको छ । 

प्रवक्ता ढुंगानाका अनुसार यसअघि गहुँ नै आयात हुन्थ्यो । भारतले गहुँ निकासीमा प्रतिबन्ध लगाएपछि बिस्कुट, चाउचाउ उद्योगले गहुँको पिठो नै मगाउन थालेका हुन् । असारमा जेठको भन्दा बढी गहुँको पिठो भित्रिएको छ । 

नेपाल सरकारले भारत सरकारसँग गहुँबारे कुरा नगर्दा पिठो आयात हुन थालेको हो । यसले स्वदेशी मैदा मिलहरू जोखिममा परेका छन् । नेपालका ३६ मैदा मिलले वार्षिक ६ लाख ५० हजार टन पिठो उत्पादन गर्छन् । उद्योगीहरू भारतबाट गहुँ ल्याउन नपाए गाईबस्तुलाई खुवाउने चोकरको पनि समस्या हुने बताउँछन् । 

विराटनगर भन्सारका अनुसार यो नाकाबाट चालू आर्थिक वर्षको १० महीनामा ३२ करोड ७७ लाख ९० हजार रुपैयाँ मूल्यको करीब १ लाख क्वीन्टल गहुँ आयात भएको छ ।
मैदा उत्पादक संघका महासचिव राधेश्याम अग्रवालले स्थानीय उत्पादनभन्दा भारतबाट आउने पिठो सस्तो पर्ने भएकाले यहाँका उद्योगले लागतसमेत उठाउन नसक्ने स्थिति आएको बताए । उनले भने, ‘यहाँका मैदा मिल बन्द हुने संघारमा पुगेका छन् ।’ 

गहुँ आयात गर्दा भन्सार महसुल ५ प्रतिशत लाग्छ । मैदा आयात गर्दा १० प्रतिशत भन्सार महसुल तिर्नुपर्छ । तैपनि स्थानीय उत्पादनको तुलनामा भारतीय मैदा सस्तो पर्छ । स्वदेशी मैदा उद्योगको वार्षिक उत्पादन क्षमता १६ लाख मेट्रिक टन छ । तर, गहुँ अभावले वार्षिक सरदर ६ लाख ५० हजार टनमात्रै उत्पादन गर्दै आएका छन् । अग्रवालले भारतले गहुँ निकासीमा रोक लगाएर मैदा निकासी गर्न दिँदा यसपालि त्यति पनि उत्पादन हुने स्थिति नभएको बताए । मुलुकमा अहिले स्वदेशी उत्पादनको गहुँ करीब सवा लाख टन छ । त्यसले ३६ ओटा उद्योगलाई बढीमा १ महीना धान्छ । उक्त मौज्दात सकिएपछि सबै मैदा उद्योग बन्द हुने अग्रवालले बताए ।

अघिल्लो वर्ष भारतबाट ६ अर्ब ९० करोड ७२ लाख ९० हजार रुपैयाँ मूल्यको ३ लाख ३५ हजार ९३२ टन गहुँ आयात भएको भन्सार विभागको तथ्यांक छ । जोगवनी नाकाबाट मात्र गतवर्ष २ अर्ब २० करोड मूल्यको ७ हजार ८ सय टन गहुँ आयात भएको थियो । भारतले गहुँ निकासीमा रोक लगाएर मैदा निकासी खुला राख्दा स्थानीय मैदा मिल बन्द गर्नुको विकल्प नरहेको मोरङ व्यापार संघका उपाध्यक्ष तथा विशाल मैदा मिलका सञ्चालक विकास वेगवानीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्