अर्थतन्त्रमा थप जटिलताहरु थपिंदै गयो : पूर्वअर्थमन्त्री



काठमाडौं,असार १८। पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा कायम रहँदा थप जटिलताहरु पनि थपिने क्रम रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा मदन भण्डारी बौद्धिक मञ्चद्वारा आयोजित संकटोन्मुख अर्थतन्त्र र आगामी आर्थिक वर्ष २०७९/  ०८०को बजेट विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । उनले निर्माण सामग्री,पेट्रोलियम पदार्थ, बैंकको ब्याजदर,यातायात ढुवानी भाडासमेत बढ्दै गएकाले अर्थतन्त्रमा चुनौतीहरु पनि थपिंदै जाने बताए ।

उनले सरकारले आगामी आर्थिक वर्षमा आयात प्रतिस्थापन गरेर निर्यातलाई दोब्बर गर्ने नीति ल्याएको हो भने पनि सम्भव नभएको दाबी गरे । उनले हरेक चिजको मूल्यवृद्धि हुँदै गएकाले हाम्रो कुनैपनि उत्पादनमा प्रतिष्पर्धा नहुने हुँदा निर्यात दोब्बर हुन नसक्ने बताए । 

पूर्वअर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर ८ प्रतिशत हुन नसक्ने पनि बताए । उनले आगामी आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि हुँदा धेरै आयात गर्नुपर्ने बताए । उनले वर्तमान सरकारले पाँच वर्षमा मुलुकको व्यापार सन्तुलन ल्याए सबैले सम्मान गर्ने पनि बताए । उनले आर्थिक वृद्धिदर ५ प्रतिशतमाथि जाने बित्तिकै व्यापार घाटामा दबाब पर्ने अवस्था रहेको बताए ।

उनले आर्थिक वृद्धि गरेर मुलुकले निर्यात गर्न नसके शोधनान्तर घाटा बढ्ने र शोधानान्तर घाटा हुँदा पुनःअर्थतन्त्र भयावह हुने बताए । 

त्यस्तै पूर्वअर्थमन्त्री खतिवडाले रसुवागढी नाकाबाट हुने अनधिकृत व्यापार रोक्नेसके मात्रै पनि वर्षमा ३ खर्ब रुपैयाँको हुण्डी कारोबार रोकिने बताए । पूर्वमन्त्री खतिवडाले अघिल्लो सरकारले ल्याएको विदेशी लगानीले नै अहिलेको सरकार चलिरहेको दाबी गरे । 

प्रतिक्रिया दिनुहोस्