शेयरमूल्य दुई वर्षअघिको भन्दा कम



काठमाडौं,साउन २० । धितोपत्र दोस्रो बजारमा हाल कारोबारमा रहेका २१ वाणिज्य बैंकहरूमध्ये १० ओटाको शेयरमूल्य दुई वर्षअघिको भन्दा कम रहेको छ । २०७७ असार १७ गते र २०७९ असार १७ गतेको ती बैंकहरूको अन्तिम मूल्यका आधारमा शेयरमूल्य कम देखिएको हो ।

गत भदौ २ गते ३ हजार २०० विन्दु पार गरेर ऐतिहासिक रेकर्ड कायम गरेको नेप्से परिसूचक २०७७ असार १५ गतेदेखि उकालो लागेको तथ्यांकले देखाउँछ । नेप्से परिसूचक सो समयमा १ हजार १८८ दशमलव ७१ विन्दुमा रहेको थियो । पछिल्लो समय असार १७ गते नेप्से परिसूचक २ हजार २८ दशमलव ७७ विन्दुमा पुगेको छ ।

दुई वर्षअघिको तुलनामा शेयरमूल्य कम हुने वाणिज्य बैंकहरूमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, एनएमबि बैंक, नेपाल एसबिआई बैंक, सानिमा बैंक, कृषि विकास बैंक, सनराइज बैंक, प्रभु बैंक र लक्ष्मी बैंक रहेका छन् । यस अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य सर्वाधिक घटेको छ । यो बैंकको शेयरमूल्य प्रतिकित्ता रू. २५६ दशमलव ५० ले घटेको छ । दुई वर्षअघि प्रतिकित्ता रू. ६४६ रहेको स्ट्याण्डर्ड चार्टर्ड बैैंकको शेयरमूल्य पछिल्लो समय प्रतिकित्ता रू. ३८९ दशमलव ५० कायम भएको हो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकपछि हिमालयन बैंकको शेयरमूल्य सर्वाधिक घटेको छ । दुई वर्षअघि प्रतिकित्ता रू. ५३७ रहेको हिमालयन बैंकको शेयरमूल्य दुई वर्षपछि रू. ३१० कायम भएको छ । यो बीचमा बैंकको शेयरमूल्य प्रतिकित्ता रू. २२७ ले घटेको हो । नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जरका कारण हिमालयन बैंकको शेयर कारोबार एक वर्षभन्दा बढी समय रोकिएको थियो । नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जर सम्झौता हिमालयन बैंकले नै अस्वीकार गरेको थियो । हाल बैंकको आधारभूत शेयरधनी वाहेकका शेयरधनीहरूको शेयर मात्र कारोबार खुला गरिएको छ ।

यसैगरी दुई वर्षअघिको भन्दा एभरेष्ट बैंकको प्रतिकित्ता रू. २१८, एनएमबि बैंकको प्रतिकित्ता रू. १३९, नेपाल एसबिआई बैंकको प्रतिकित्ता रू. १३४, सानिमा बैंकको प्रतिकित्ता रू. ६७, कृषि विकास बैंकको प्रतिकित्ता रू. ५४, सनराइज बैंकको प्रतिकित्ता रू. ३०, प्रभु बैंकको प्रतिकित्ता रू. २४ र लक्ष्मी बैंकको प्रतिकित्ता रू. ६ ले शेयरमूल्य कम भएको हो ।

सूचीकृत २६ वाणिज्य बैंकहरूमध्ये ५ बैंकहरूको शेयर कारोबार भने मर्जर तथा प्राप्ति प्रयोजनका लागि रोक्का राखिएको छ । नेपाल इन्भेष्टमेण्ट बैंक, मेगा बैंक नेपाल, नेपाल बंगलादेश बैंक, बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकको शेयर कारोबार भने मर्जर तथा प्राप्ति प्रयोजनका लागि रोक्का राखिएको हो ।

विश्वव्यापी कोरोना महामारीका बीच नेपालमा अन्य व्यापारिक क्षेत्र बन्द हुँदा पूर्ण अनलाइन प्रविधिसँग जोडिएको धितोपत्र दोस्रो बजार भने केही समय प्रभावित बने पनि निरन्तर सञ्चालनमै रहेको थियो । कोभिडको समयमा सबै क्षेत्र प्रभावित बन्दा निरन्तर सञ्चालनमा रहेको धितोपत्र दोस्रो बजारमा भने सबैको आकर्षण बढेको थियो । जसका कारण २०७८ भदौ २ गते नेप्सेले ३ हजार २०० विन्दुको ऐतिहासिक रेकर्ड कायम गर्न सफल बनेको थियो । उक्त रेकर्ड ब्रेक गर्दा पनि अधिकांश वाणिज्य बैंकहरूको शेयरमूल्य रू. ५०० भन्दा कम थियो । यसरी हेर्दा वाणिज्य बैंकको शेयरको माग न्यून रहेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्