श्रमिकको योगदानको उचित कदर हुनेगरी काम गर्छौं : श्रममन्त्री कुँवर



काठमाडौं,असार २० । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले श्रमिकको योगदानको उचित मूल्यांकन हुनेगरी काम गर्ने उद्घोष गरेका छन् । मन्त्रालयमा आइतवार भएको सामाजिक सुरक्षा कोष र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको ब्रिफिङ कार्यक्रममा मन्त्री कुँवरले देश तथा विदेशमा रहेका सबै श्रमिकको उचित कदर हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले श्रमिकको हक हित संरक्षणमा ट्रेड युनियन र राजनीतिक दलका भ्र्रातृ संगठन अनुशासित तरीकाले लाग्नुपर्ने बताए । ‘म पनि श्रमिकको न्यायको पक्षमा काम गर्नेछु । त्यसैले बन्द, हडताल, तालाबन्दी गर्नेभन्दा पनि शान्तिपूर्ण तरीकाले श्रमिकलाई न्यायको अनुभूति हुने काम गरौं,’ उनले भने ।

मन्त्री कुँवरले वैदेशिक रोजगारीमा गएका युवाले पठाएको रेमिट्यान्सले देशको आय बढाउने काम गरेकाले उनीहरूको उचित मूल्यांकन हुनुपर्ने बताएका छन् । श्रमिकलाई काम गर्ने वातावरण सहज बनाउन कानूनमा भएका झन्झटिला प्रावधान संशोधन गर्न पनि आफूले पहल गर्ने उनले बताए । त्यस्तै खाडी मुलुकमा मात्रै नभएर भारतमा रहेका श्रमिकका समस्यालाई पनि ध्यानमा राखेर काम गर्न सन्बन्धित विभागलाई उनले आग्रह गरेका छन् । कार्यक्रममा सामाजिक सुरक्षा कोषले अहिलेसम्म गरेका काम र भएका उपलब्धिका साथै आगामी दिनमा गर्न सकिने कामको बारेमा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी गराएका थिए । त्यस्तै श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको बारेमा विभागका महानिर्देशक उमाकान्त आचार्यले जानकारी गराएका थिए । कुँवर श्रममन्त्री नियुक्त भएपछि मन्त्रालय अन्तर्गतका विभिन्न विभागहरूको ब्रिफिङ लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्