मायादेवी मन्दिरभित्र राखिएको दानपेटिका खोलियो



बुटवल,असार २० । लुम्बिनीको मायादेवी मन्दिरभित्र राखिएको दानपेटिका आइतबार खोलिएको छ। दानपेटिका लुम्बिनी विकास कोषको आन्तरिक आम्दानीको प्रमुख स्रोत मानिन्छ। लुम्बिनीमा चार वटा दानपेटिका राखिएकोमा आइतबार एउटामात्र खोलिएको विकास कोषले जनाएको छ। कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले एउटा दानपेटिकाको रकम गणना सकिएपछि अर्को दानपेटी खोल्ने र सबै दानपेटिकाको भेटी गणना गर्दा ४ दिनसम्म लाग्ने बताए।

प्रत्येक १५ दिनमा दानपेटिका खोल्नुपर्ने भए पनि तीन महिनापछि दानपेटिका भरिएपछि मात्रै खोलिएको हो। विकास कोषका अनुसार यसअघि गत चैत १८ गते दानपेटिका खोलिएको थियो। त्यसबेला दानपेटिकाबाट ३७ लाख रुपैयाँ रकम संकलन भएको कोषले जनाएको छ। लुम्बिनीमा प्रमुख आम्दानीको स्रोतका रूपमा दानलाई लिने गरिएको छ। विकास कोषका कोषाध्यक्ष भट्टराईको नेतृत्वमा सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरूको उपस्थितिमा दानपेटिका खोली रकम गणना भइरहेको छ। विकास कोषले दानपेटिकामा संकलित रकमलाई पारदर्शी बनाउन सिसिटिभी क्यामेरा जडान गरी गणना सुरू गरिएको जनाएको छ।

लुम्बिनी भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटकहरूले पवित्र भावनाले गरेको दानलाई लुम्बिनीको विकासमा लगाउने गरी दानपेटिका सबै पक्षको रोहवरमा खोलिएको भट्टराईले बताए।उनले आफूले कोषाध्यक्ष पद सम्हालेदेखि दानपेटिकामा संकलित दान पारदर्शी बनाउने र यसको सदुपयोग भएको सन्देश दिन सञ्चारकर्मीलाई समेत बोलाएर गणना थालिएको बताए। विगतमा दानपेटिका चोरी हुने र पर्यटकहरूले पवित्र भावनाले दिएको दान समेत अपारदर्शी हुने गरेका घटना बाहिरिने गरेका थिए।

दानपेटिका चोरी हुन थालेपछि विकास कोषले मायादेवी मन्दिर र लुम्बिनीका संवेदनशील क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरेको छ। लुम्बिनीका सुरक्षा अधिकृत खगेन्द्र काफ्लेले दानपेटिका खोल्ने र गणना गर्ने कार्य पनि सिसिटिभी क्यामेराको निगरानीमा भइरहेको जानकारी दिए।उनले दानपेटिकाको हरेक दिनको मुचुल्का उठाएर संकलित रकम तुरून्तै बैंकका दाखिला गर्ने गरिएको बताए। दान गणना गर्ने कार्य राजस्व शाखा, लुम्बिनी सुरक्षा प्रतिनिधि, नेपाल प्रहरी, दंगा प्रहरी बल, सशस्त्र प्रहरी र लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रतिनिधिहरूको उपस्थितिमा भइरहेको छ। लुम्बिनी विकास कोषले आन्तरिक आम्दानीबाटै कर्मचारीको तलब भत्ता र अन्य व्यवस्थापन गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्