जनप्रतिनिधिका लागि एचआइभी, क्षयरोग र मलेरिया रोग सम्वन्धी अभिमुखीकरण



प्यूठान,असार २७ । एचआइभि, क्षयरोग र मलेरिया रोग सम्वन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सोमवार विजुवारमा सम्पन्न भएको छ ।

लुम्विनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय स्वास्थ्य निर्देशनालय बुटवलले आयोजना गरेको कार्यक्रममा एचआइभि, क्षयरोग तथा मलेरियाका रोग संक्रमणको अवस्था तथा न्यूनीकरणका लागि भइरहेका प्रयासका बारेमा जानकारी गराइएको थियो ।

स्वास्थ्य कार्यालयका प्रमुख मधुसुदन खडकाले जिल्लाको एचआइभी संक्रमणको अवस्था तथा संक्रमण नियन्त्रणका लागि भइरहेका प्रयासहरुको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

स्वास्थ्य कार्यालयका सुपरभाइजर पुस्कल श्रेष्ठले जिल्लाको क्षयरोग तथा मलेरिया रोगको अवस्था तथा तीनको न्यूनीकरणका लागि भइरहेका प्रयासहरुको बारेमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख दुर्गा रेग्मीले समुदायमा एचआइभी संक्रमित व्यक्तिहरु लाञ्छनाको डरले खुल्न नसकेकोले सचेतनाको क्रियाकलापहरु आवश्यक भएको बताए ।

संक्रमितहरुलाई पोषण तथा स्वास्थ्य उपचारमा विशेष ध्यान दिन पनि उनले सरोकारवाला निकायलाई आग्रह गरे ।
नगरपालिकाको तर्फबाट प्यूठान नगरपालिकाका प्रमुख विष्णु बहादुर योगीले संक्रामक दर बढि भएका तथा उपचार गर्न समेत कठिन भएका सरुवा रोग नियन्त्रणको लागि स्थानीय तहहरुले प्रयास गरिरहेको बताए । उनले आगामी आर्थिक वर्षको स्वास्थ्य क्षेत्रको बजेटमा वृद्धि गरी े नगरपालिकाले स्वास्थ्य सेवाको गुणस्तर तथा पहुँच वृद्धि गर्ने प्रयास गरिरहेको बताए ।

जिल्लाको सम्पूर्ण गाउँपालिकाको तर्फबाट मन्तव्य दिदै नौवहिनी गाउँपालिकाका प्रमुख डिलबहादुर थापाले एचआइभी, मलेरिया जस्ता संक्रामण रोग नियन्त्रणका लागि सबैको सरोकारवाला सबैको हातेमालोको जरुरी रहेको बताए ।

स्वास्थ्य निर्देशनालय बुटवललका तथ्यांक अधिकृत डोरबहादुर बस्नेतको स्वागत मन्तव्य तथा अभिमुखीकरणको उद्देश्यबारे जानकारी गराएसँगै शुरु भएको अभिमुखीकरण कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालयका कौशलराज वैद्यले गरेका थिए । अभिमुखीकरण कार्यक्रम प्यूठानसहित लुम्विनी प्रदेशका तीन जिल्लामा आयोजना भएको बताइएको छ ।

अभिमुखीकरणमा जिल्लाका नौवटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो । जिल्लामा अहिले ५७ पुरुष, ५७ महिला गरी ११४ जनाले एआरटी सेवा लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्