‘नेपाली कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुकाको पनि आर्थिक लेनदेन गरेको छैन’-गगन थापा
काठमाडौं,कात्तिक १९ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी राजनीतिक तथा कानुनी लडाइँमा कुनै पनि आर्थिक लेनदेन वा अनुचित काम नगरेको स्पष्ट पार्नुभएको छ।
प्रहरीको अनुसन्धानका लागि हिरासतमा रहेका इनम सापकोटाको नाममा सार्वजनिक भएको अडियोप्रति सामाजिक संजालमा एक भिडियो मार्फत प्रतिक्रिया दिँदै थापाले उक्त अडियो कहाँ, कसले, किन र कहिले बोलेको भन्नेबारे आफूलाई जानकारी नभएको बताउनुभयो।
उहाँले अडियोमा आफ्नो बारेमा के कुरा आएको छ भन्ने विषयमा समेत आफूलाई चासो नभएको उल्लेख गर्दै यस प्रकरणका एकपछि अर्को तथ्य सार्वजनिक हुँदै जाने र हुनुपर्ने बताउनुभयो।
कांग्रेसको आधिकारिकताको राजनीतिक तथा कानुनी लडाइँमा आफूले एक सुकाको पनि आर्थिक लेनदेन नगरेको र कुनै अनुचित काम नभएको उहाँको दाबी छ।
थापाले आफ्नो नैतिक धरातल कमजोर नरहेको जिकिर गर्दै आफूलाई दाजु, भाइ, साथी, छोरा तथा पार्टीको सभापतिका रूपमा हेर्ने सबैलाई विश्वास दिलाउन चाहेको बताउनुभयो।
“मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन, मेरो हात सफा छ,” उहाँले भन्नुभयो। साथै, आफूले सधैँ नैतिकता र स्वच्छताको पक्षमा उभिँदै आएको उहाँको भनाइ छ।

