प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेट



काठमाडौँ,कात्तिक १९ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, विपद् व्यवस्थापन, खेलकुद विकास तथा विभिन्न क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिनुभयो।

भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै गएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले पहिलो उद्धारकर्ताका रूपमा राहत सामग्री उपलब्ध गराउनुका साथै उद्धार टोली खटाएर गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभएको थियो। विपद्का बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमार्फत व्यक्त गर्नुभएको ऐक्यबद्धता र सहयोगको प्रतिबद्धताप्रति पनि उहाँले धन्यवाद दिनुभएको दाहालले बताउनुभयो।

प्रधानमन्त्री शाहले नेपालको खेलकुद क्षेत्रको विकासका लागि भारतसँग गर्न सकिने सहकार्यका विषयमा समेत चासो व्यक्त गर्नुभएको थियो।

भेटमा भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई लिएर भारतीय प्रधानमन्त्री मोदीले तयारी तीव्र पार्नुभएको सन्देश सुनाउनुभएको थियो। उहाँले भ्रमणलाई सफल बनाउन भारतले आवश्यक तयारी गरिरहेको जानकारी गराउनुभएको थियो।

यसैगरी, ऊर्जा, जलस्रोत, व्यापार तथा पारवहन र उड्डयनसम्बन्धी नेपाल–भारत द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी पनि मिस्रीले गराउनुभएको थियो।

भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेल सेवा सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिँदै उहाँले उक्त मार्गमा आजै रेलको परीक्षणसमेत गरिएको बताउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्