पञ्चकन्या र दुप्चेश्वरका २३ परिवारलाई खानेपानीका सामग्री वितरण



नुवाकोट,कात्तिक १९ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र रूडेक नेपाल नुवाकोटको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमअन्तर्गत नुवाकोटको पञ्चकन्या र दुप्चेश्वर गाउँपालिकाका २३ परिवारलाई खानेपानीका सामग्री वितरण गरिएको छ ।

पञ्चकन्या गाउँपालिकाका उपाध्यक्ष विमला केसीको उपस्थितिमा खानेपानीका धारा निर्माण तथा मर्मतका लागि आवश्यक सामग्री वितरण गरिएको हो । कार्यक्रमअन्तर्गत प्रायोजित बालबालिका आबद्ध परिवारलाई लक्षित गरी सिमेन्ट, पानी ट्याङ्की, धारा जडानका सामग्री तथा आवश्यक पाइप उपलब्ध गराइएको छ ।

यसअघि पनि सोही कार्यक्रमअन्तर्गत १६ परिवारलाई घर निर्माण तथा मर्मतका लागि र १५ परिवारलाई शौचालय निर्माणका लागि आवश्यक सामग्री वितरण गरिसकिएको रूडेक नेपालका अध्यक्ष मिनकुमार केसीले जानकारी दिनुभयो ।

कार्यक्रमले बालबालिकाका लागि स्वच्छ, सुरक्षित र सहज पारिवारिक वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, घरायसी सरसफाइ तथा स्वच्छता अभियानलाई प्रभावकारी बनाउन र परिवारको जीवनस्तर सुधारमा समेत योगदान पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्