काठमाडौं गोर्खाजको विराटनगरमाथि ९ विकेटको सानदार जित
काठमाडौं,कात्तिक १९ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गोर्खाजले विराटनगर किङ्समाथि ९ विकेटको एकपक्षीय जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा काठमाडौंले विराटनगरले दिएको ८४ रनको लक्ष्य ६२ बल बाँकी छँदै १ विकेट गुमाएर पूरा गरेको हो।
यस जितसँगै काठमाडौं गोर्खाज ३ खेलमा २ जितसहित ४ अङ्क जोडेर अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। ५ खेलमा २ जित र ३ हार बेहोरेको विराटनगर ४ अङ्कसहित कमजोर नेट रनरेटका कारण पाँचौं स्थानमा रहेको छ। लुम्बिनी लायन्स ७ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ।
८४ रनको लक्ष्य पछ्याएको काठमाडौंका लागि डेभिड वार्नरले विस्फोटक ब्याटिङ गरे। उनले २४ बलमा २ चौका र ३ छक्कासहित अविजित ४४ रन बनाए। विलियम बोसिस्टोले २४ बलमा ३ चौकासहित अविजित २३ रन जोडे। यी दुईबीच दोस्रो विकेटका लागि ६९ रनको अविजित साझेदारी भयो। काठमाडौंले साहिल पटेललाई १० रनमा गुमाएको थियो। विराटनगरका अपराजित पौडेलले एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किङ्स काठमाडौंका बलरको उत्कृष्ट प्रदर्शनसामु १८.३ ओभरमा ८३ रनमै समेटिएको थियो। विराटनगरले ९.४ ओभरमा ३५ रन जोड्दा सात विकेट गुमाइसकेको थियो।
विराटनगरका लागि रूपेश सिंहले सर्वाधिक २६ रन बनाए। उनले २७ बलमा ३ चौका र १ छक्का प्रहार गरे। एन्जेलो म्याथ्युजले ३१ बलमा १ चौकासहित २२ रन जोडे। म्याथ्युज र रूपेशबीच आठौं विकेटका लागि ३९ रनको साझेदारी भएको थियो। बसिर अहमदले १० रन बनाए।
विराटनगरका अन्य ब्याटरले भने उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। शेहान जयसूर्या ५, लोकेश बम ६ र आन्द्रे रसेल ३ रनमा आउट भए। इमरान शेख, नारायण जोशी र शुभम रन्जानेले खाता खोल्न सकेनन्। कप्तान सन्दीप लामिछाने ३ रनमा अविजित रहँदा अपराजित पौडेलले २ रन बनाए।
काठमाडौंका सन्तोष यादवले ३ ओभरमा ११ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। कप्तान करण केसीले ४.३ ओभरमा १७ रन दिएर २ विकेट तथा सहान अराच्चिगेले २ ओभरमा ७ रन खर्चेर २ विकेट लिए। जहाँदाद खान, शाह आलम र देव शाहले समान एक विकेट हात पारे।
काठमाडौंको सानदार बलिङ र वार्नरको आक्रामक ब्याटिङका कारण विराटनगरले खेलमा पुनरागमन गर्ने अवसर पाएन।

