गुल्मीमा जीप दुर्घटना हुँदा ६ जना घाइते
गुल्मी,असार २७ । गुल्मीमा सोमबार बेलुकी भएको जीप दुर्घटनामा ६ जना घाइते भएका छन् । जिल्लाको सदरमुकाम तम्घासबाट इस्मा तर्फ जाँदै गरेको ग १ ज ५८८९ नम्बरको डबल क्याप जीप रेसुङ्गा नगरपालिका वडानम्बर–४ मसिनापोखरी नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक एसपी भीमबहादुर दाहालले बताउनु भयो ।
दुर्घटनामा घाइते ६ जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।दुर्घटनामा परेर इस्मा गाउँपालिका वडानम्बर–४ निवासी ५८ वर्षका लेकबहादु पल्ली, ५९ वर्षका रुद्रबहादुर पल्ली, ५९ वर्षकी नर्मती घिमिरे, ६८ वर्षका ज्ञानबहादुर बस्नेत, ५६ वर्षकारिकबहादुर दर्लामी, ५८ वर्षका केशबहादुर पल्ली घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते मध्ये नर्मती र केशबहादुरलाई थप उपचारको लागि पाल्पा पठाइएको छ । अन्य घाइतेहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा परेको जीप सडकमै पल्टीएको छ ।