राष्ट्रियसभामा चार विधेयक पेश



काठमाडौं,असार २९ । राष्ट्रियसभाको मंगलवारको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त चार विधेयक पेश भएका छन् । बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ पेश गरेका छन् । यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ र ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पेश गरे ।

‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणले आन्तरिक कारणले मात्र नभई कहिलेकाहीँ बाह्य कारणबाट राजधानीको सुरक्षा संवेदनशील हुने गरेकाले राजधानीको सुरक्षा केन्द्र मातहत राख्नेगरी विधेयक संशोधन गरिएको बताए ।

‘त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सुरक्षा र कहिलेकाहीँ अस्वाभाविक सुरक्षाका चुनौती वहन गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘उपत्यकाभित्रको सुरक्षा पनि प्रदेश प्रहरीको समन्वयमा संघीय प्रहरीले लिन्छ ।’ उपत्यकाको सुरक्षा जिम्मा संघीय प्रहरीले गर्ने भन्दैमा सरकारलाई संघीयता विरोधीका रूपमा चित्रित गर्न नहुने उनले बताए । नेपाल प्रहरीसँग भएको क्षमता र विशेषज्ञता उपयोग गर्न सकियोस् भनेर विधेयक ल्याइएको उनको भनाइ थियो ।

‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले प्रज्वलनशील पदार्थको आक्रमण रोक्न आवश्यक भएकाले ऐन संशोधनको प्रस्ताव गरिएको बताए । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त विधेयकमाथि संशोधन प्रस्ताव राख्न चाहने सांसदलाई राष्ट्रियसभा नियमावली, २०७५ बमोजिम यही असार २९ गते अपराह्न २ बजेभित्र संशोधन प्रस्ताव दर्ता गर्न आग्रह गरेका छन् ।

त्यसअघि राष्ट्रियसभाले सांसद अनिता देवकोटा प्रस्तावक तथा गंगाकुमारी बेलबासे र जयन्तीदेवी राई समर्थक रहेको विधेयकमाथिको संशोधनको सूचनासम्बन्धी प्रावधान निलम्बनको प्रस्ताव स्वीकृति गरेको थियो । राष्ट्रियसभा नियमावली, २०७५ को नियम १०६ को उपनियम (१) बमोजिमको ७२ घण्टाको संशोधनको अवधि छोट्याई २४ घण्टा कामय गर्न सकिने व्यवस्था छ । राष्ट्रियसभाको अर्को बैठक यही असार ३० गते बिहीवार बिहान ११ बजे बस्नेछ । आर्थिक अभियानबाट  

प्रतिक्रिया दिनुहोस्