सबैको सहज पहुँचमा न्याय पुर्‍याउन कानुनी प्रक्रिया सरल बनाउनुपर्छ : मन्त्री गौतम



काठमाडौं,कात्तिक १९ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नागरिकका आवश्यकतालाई सम्बोधन गर्दै सबैको सहज पहुँचमा न्याय पुर्‍याउनुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको आज बसेको बैठकमा मन्त्री गौतमले सामाजिक परिवर्तन र नागरिकको चेतनास्तरलाई मध्यनजर गर्दै प्रचलित कानुनी प्रक्रियालाई सरल र समयानुकूल सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।

मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयकमाथिको छलफलमा उहाँले अदालतमा मुद्दामामिलाको लामो प्रक्रियाले विवादमा संलग्न पक्षबीचको सम्बन्ध थप बिग्रन सक्ने र सामाजिक सद्भावमा समेत असर पुग्ने बताउनुभयो । उहाँका अनुसार मेलमिलापमार्फत विवाद समाधान गर्दा न्याय निरूपण सहज र प्रभावकारी बन्न सक्छ ।

मन्त्री गौतमले स्थानीय तहमा हुने सानातिना विवाद तथा आपसी झगडालाई मेलमिलापका माध्यमबाट समाधान गर्ने अभ्यास सकारात्मक रहेको उल्लेख गर्नुभयो ।

बैठकमा सांसदहरूले मेलमिलापका क्रममा सीमान्तकृत तथा पिछडिएका समुदायले भोग्ने समस्या, विवाद र चुनौतीप्रति संवेदनशील हुँदै न्यायोचित ढङ्गले विवाद समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै, विपद् प्रभावित क्षेत्रका नागरिक तथा सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट सुरक्षित स्थानमा स्थानान्तरण, पुनर्स्थापना र पुनर्निर्माणका कार्य प्रभावकारी बनाउन आवश्यक कानुनी सुधार गर्नुपर्ने विषयमा पनि सांसदहरूले ध्यानाकर्षण गराएका थिए ।

बैठकमा सरोकारवालाहरूले मेलमिलापसम्बन्धी तालिम तथा सचेतना कार्यक्रम सञ्चालन गरी स्थानीय तहमै विवाद समाधान र न्याय निरूपण प्रक्रियालाई नागरिकको पहुँचमा पुर्‍याइएको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्