श्रीलंकाली राष्ट्रपतिले पदबाट दिए राजीनामा, बुधवार सार्वजनिक गर्ने तयारीमा संसद्
कोलम्बो,असार २९ । राष्ट्रपति गोताबाया राजापाक्षले सोमवारदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका छन् ।
उनले गत सोमवार असार २९ को मिति राखेर राजीनामापत्रमा हस्ताक्षर गरेका हुन् । राष्ट्रपतिको राजीनामाको सार्वजनिक घोषणा बुधवार हुनेछ । राष्ट्रपति गोताबायाले राजीनामापत्रमा हस्ताक्षर गरेर वरिष्ठ सरकारी अधिकारीलाई हस्तान्तरण गरेको तथा ती अधिकारीले सभामुख सभामुख महिन्दा यापा आबेवर्देनालाई बुझाउने डेली मिररले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
संसद्बाट उनले गोताबाया राजापाक्ष देशको राष्ट्रपति नरहेको सार्वजनिक घोषणा गर्नेछन् । प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले बुधवार नै अस्थायी राष्ट्रपतिका रूपमा शपथ लिनेछन् । संसदबाट नयाँ राष्ट्रपति चयन नभएसम्म उनले नै शासन सञ्चालन गर्नेछन् ।
सभामुखले आगामी साउन ४ गते संवैधानिक प्रावधानअनुसार नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरिएको जानकारी राजनीतिक दलका नेताहरूलाई दिएका छन् । राष्ट्रपति पदका लागि साउन ३ गते उम्मेदवारी मनोनयन गरिनेछ ।
प्रधानमन्त्री रनिल विक्रमासिङ्घे र विपक्षी दलका नेता सजिथ प्रेमदासा उम्मेदवार बन्ने पुष्टि भइसकेको छ । प्रेमदासाले देशको अर्थतन्त्र पुनर्निर्माण गर्न आफू तयार रहेको जानकारी दिएका थिए । यसअघि प्रधानमन्त्री विक्रमासिङ्घेले पनि पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।
राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले पदबाट राजीनामा नदिएसम्म त्यहाँबाट बाहिर ननिस्कने स्पष्ट पारेका छन् । शनिवार राष्ट्रपति गोताबाया देश छाडेर भागेको बताइएको थियो ।
चरम भ्रष्टाचार, गृहयुद्ध, विद्रोह एवम् महामारीका कारण केही महीनायता श्रीलंकाले अकल्पनीय आर्थिक संकटको सामना गरिरहेको छ । आर्थिकरूपमा टाटपल्टिएको श्रीलंकामा इन्धनका साथै दैनिक उपभोग्य वस्तुको चरम अभाव छ । बाह्य ऋणको भारीले थिलथिलो भएको टापुराष्ट्रमा नयाँ राजनीतिक नेतृत्वले देशलाई आर्थिक संकटबाट मुक्त गर्न कठोर परिश्रम गर्नुपर्नेछ ।