श्रीलंकामा शुरु भयो इन्धन वितरण, ग्यास स्टेशन र पेट्रोल पम्पमा सर्वसाधारणको ठूलो भिड



श्रीलंका,असार २९ । श्रीलंकाका केही भागमा सोमवारदेखि इन्धन तथा ग्यासको वितरण शुरु भएको छ ।

आइतवार श्रीलंकाले ३ हजार ७०० मेट्रिक टन ग्यास पाएको थियो । सोही दिन मध्यान्हतिर अज्ञात स्थलबाट राष्ट्रपति गोताबाया राजापाक्षले अधिकारीहरुलाई इन्धन र ग्यास वितरण आदेश दिएका थिए ।

यो महीना श्रीलंकामा हजारौ टन ग्यास, पेट्रोल र डिजेल आइपुग्ने क्रममा छ । केही आपूर्ति आइसकेको छ । चरम आर्थिक संकटका विषयमा देशभरमा सरकारविरोधी प्रदर्शन चर्किरहेकै समयमा सीमित क्षेत्रमा इन्धन वितरण शुरु भएको छ । श्रीलंकामा महीनौंदेखि इन्धन, खाद्यान्न र आधारभूत वस्तुको चरम अभाव छ । विदेशी मुद्रा नभएपछि सरकारले इन्धनलगायत आवश्यक वस्तु आयात गर्न सकेको थिएन ।

यस्तोमा इन्धन र ग्यास वितरण शुरु हुँद ग्यास स्टेशन र पेट्रोल पम्पहरुमा मानिसहरुको ठूलो भिड लागेको थियो । इन्धन आयातको लागि लागि सरकारी तेल कम्पनी सिलोन पेट्रोलियम कर्पोरेशन (सीपीसी) का लागि आवश्यक रकम जोहो गरिदिन केन्द्रीय बैंकले ट्रेजरी बिल जारी गरेर बजारबार २ खर्ब १७ अर्ब रुपया उठाएको थियो । योमध्ये १ खर्ब ७ अर्ब रुपी बराबर बैंकले सीपीसीलाई दिएको थियो । 

इन्धन अभाव समाधान गर्न श्रीलंका सरकारले रुससँग सस्तोमा तेल खरीदका लागि मद्दत मागेको थियो । पछिल्लो आपूर्ति कसले उपलब्ध गराएको हो भन्नेबारे स्थानीय सञ्चारमाध्यमहरुले केही पनि बताएका छैनन् । 

प्रतिक्रिया दिनुहोस्