लेखापरीक्षणविनै चल्दै सार्वजनिक संस्थान
काठमाडौं,असार ३० । मुलुकमा सञ्चालित ४२ सार्वजनिक संस्थानमध्ये २६ ले लेखापरीक्षण नै गरेका छैनन् । महालेखापरीक्षकको ५९औं प्रतिवेदनअनुसार राष्ट्रिय बीमा संस्थानले ९ वर्षदेखि लेखापरीक्षण गराएको छैन । विशाल बजार कम्पनी र राष्ट्रिय बीमा कम्पनीले ५ वर्षदेखि, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विगत ३ वर्षदेखि लेखापरीक्षण गराएका छैनन् ।
सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०७९ मा उल्लेख भएअनुसार ४२ संस्थानको विगत ३ वर्षको सञ्चालन अवस्था पनि नकारात्मक छ । ४ क्षेत्रका १५ सार्वजनिक संस्थान निरन्तर घाटामा छन् ।
त्यस्ता संस्थानको कुल सञ्चित नोक्सानी २०७५/७६ मा २६ अर्ब ९ करोड ८ लाख रहेकोमा २०७६/७७ मा बढेर ३२ अर्ब ३ करोड ७८ लाख र २०७७/७८ मा ३५ अर्ब १६ करोड ८८ लाख पुगेको छ । २०७८ जेठसम्म १६ संस्थानले मात्रै तोकिएकै समयमा २०७७/७८ सम्मको लेखापरीक्षण गराएका छन् ।