राष्ट्रिय समाचार समितिले साउन १ गतेदेखि श्रव्यदृश्य सेवा आरम्भ गर्ने
काठमाडौं,असार ३० । राष्ट्रिय समाचार समिति (रासस)ले आउँदो साउन १ गतेदेखि परीक्षण प्रसारणका रुपमा श्रव्यदृश्य सेवा आरम्भ गर्ने भएको छ ।
सरकारी स्वामित्वको मुलुकको एकमात्र समाचार समिति रासस केन्द्रीय कार्यालय भद्रकालीमा बिहीबार आयोजित ‘राससको श्रव्यदृश्य सेवा सञ्चालन र प्रभावकारिता’ विषयक अन्तर्क्रिया कार्यक्रममा सो सेवाबारे जानकारी गराइएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालसहित टेलिभिजन पत्रकारिताका विज्ञ र विभिन्न टेलिभिजनका समाचार प्रमुख एवं प्रतिनिधि सहभागी कार्यक्रममा समयको मागसँगै राससको सेवा छिटोछरितो र मल्टिमिडियायुक्त हुन आवश्यक भएको पनि बताए ।