आलोचना बढेपछि विदेशीहरूलाई प्राविधिक प्रशिक्षण दिने कार्यक्रमको समीक्षा गर्दै जापान



एजेन्सी,साउन १४ । जापान सरकारले विदेशीहरूलाई प्राविधिक प्रशिक्षण दिने र जापानको उन्नत सीप अन्यत्र स्थानान्तरण गर्ने भनेर ल्याएको प्रशिक्षण कार्यक्रममाथि पुनरवलोकन गर्ने भएको छ ।

जापानले विकाशोन्मुख देशहरूमा आफूकहाँ भएको प्रविधि र ज्ञान स्थानान्तरण गर्नका लागि सो कार्यक्रम शुरु गरेको थियो । जापानी कम्पनीहरूले विदेशबाट सस्तो श्रम आयात गर्न सो कार्यक्रमको दुरुपयोग गरेको भन्ने आलोचना बढेको र सो कार्यक्रममा आएका विदेशीहरूमाथि उत्पीडनको घटना बढेकालगायत समस्याहरू देखिरहेकै समयमा सरकारले यस्तो पहल गर्न लागेको हो । 

जापानमा आउने प्राविधिक प्रशिक्षार्थीहरू सामना गरिरहेका कयौं समस्याहरू समाधानको ऐतिहासिक संकल्प खोजिने वाचा न्यायमन्त्री योशिहिसा फुरुकावाले शुक्रवार पत्रकार सम्मेलनमा गरेका छन् । सरकारले विदेशी प्राविधिक प्रशिक्षार्थी कार्यक्रममा पुनरवलोकन गर्ने र कार्यक्रमको उद्देश्य एवम् वास्तविक अवस्थाबीच भिन्नता नहुने ढाँचा बनाउनेतर्फ काम गर्ने उनको भनाइ छ । 

छिटोमा यो वर्षको अन्त्यसम्ममा कार्यक्रममा व्याप्त समस्याहरूको समाधानका लागि विज्ञहरूको एउटा समिति तयार पारिने फुरुकावाले बताएका छन् । अन्तरराष्ट्रिय क्षेत्रमा योगदान दिने कार्यक्रमको उद्देश्य रहेको भए पनि यो वास्तवमा जापानी कम्पनीहरूले भोगिरहेको श्रमिक अभावको समस्या समाधान गर्न प्रयोग भइरहेको भनेर केही मानिसहरूले बताइरहेको र यो चासो उचित भएको आफूलाई लागेको उनले बताएका छन् । मन्त्रिपरिषद्का सम्बन्धित मन्त्रालयहरूको एउटा परिषद् मातहत स्थापना गरिने विज्ञ समितिमा यसबारे निरन्तर गहन छलफल हुने पनि उनले बताएका छन् । 

लामो समयदेखि बहस बनिरहेको यस विषयमा ऐतिहासिक निचोडमा पुग्ने सरकारको लक्ष्य भएको उनको भनाइ छ । शुक्रवार फुरुकावाले आफ्नो अध्ययन समूहले प्राविधिक प्रशिक्षार्थी कार्यक्रमका विषयमा तयार पारेको समस्याहरूको सारांश पनि सार्वजनिक गरेका थिए । यस वर्षको फेब्रुअरीदेखि जुनको बीचमा सो अध्ययन समूहले प्राविधिक प्रशिक्षार्थी कार्यक्रम र विदेशीहरूलाई विशेष सीपयुक्त कामदारको रूपमा स्थायी भिसा हैसियत दिने अन्य कार्यक्रमको समीक्षा गर्न ११ पटक बैठक बसेको थियो । 

पर्याप्त जानकारीको अभावका कारण विदेशी कामदारहरूलाई अनुपयुक्त कार्यलस्थलमा लगाइने, जापान आउनकै लागि गृह देशमा ठूलो रकम ऋण लिएर आएको हुनाले जस्तोसुकै खराब कार्य वातावरणमा पनि काम गर्न प्रशिक्षार्थीहरू बाध्य हुने, प्रशिक्षणकै क्रममा विदेशीहरू हराउने, प्रशिक्षार्थीहरूमाथि हुने उत्पीडन र दुव्र्यवहारप्रति पर्यवेक्षक संस्था उदासीन रहनेलगायत समस्या व्याप्त छन् ।

प्रतिक्रिया दिनुहोस्