जनार्दन शर्माले गरे पदभार ग्रहण, देशलाई आत्मनिर्भरताको बाटोमा डोर्याउने

काठमाडौं,साउन १६ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । आइतबार अर्थमन्त्रीमा पुन: नियुक्त भएका शर्माले पद तथा गोपनीयताको शपथ लिए लगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन ।
अर्थमन्त्रीलाई राजस्व सचिव कृष्णहरी पुष्करले स्वागत गरेका थिए । पदभारपछि अर्थमन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै मन्त्री शर्माले आयात प्रतिस्थापन गर्दै मुलुकलाई आत्मनिर्भरताको बाटोमा डोर्याउने खालको बजेट आफ्नो नेतृत्वमा ल्याइएको बताउँदै त्यसको सही रुपमा कार्यान्वयनमा लाग्न अर्थका अधिकारीहरुलाई निर्देशन दिए ।
उनले अघिल्लो बजेटको समीक्षा गरेर अघि बढ्न जरुरी रहेको समेत बताए । शर्माले यति बेला अर्थतन्त्रलाई सबलीकरण गर्नुपर्ने आवश्यकता रहेको भन्दै बजेटले त्यही दिशामा लैजाने विश्वास व्यक्त गरे ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेपछि गत असार २२ मा तत्कालीन अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएका थिए ।
त्यसअघि सोही दिन प्रतिनिधिसभाले उनीमाथि छानबिनका लागि ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरेको थियो । उक्त समितिको प्रतिवेदनमा शर्मालाई ‘क्लिन चिट’ दिइएको छ ।