असारे खेतजस्तै सडक : बाग्दुला-बहाने सडकमा सधैंको सास्ती
प्युठान,साउन १८ । प्युठानको प्रमुख ब्यापारिक केन्द्र बाग्दुला–बहाने जोड्ने १३ किलोमिटर सडक जीर्ण बनेपछि यात्रुले सधैं जोखिम र सास्ती भोग्नुपरिरहेको छ । ट्रयाक खुलेको दशकौ सम्म स्तरोन्नती नहुँदा यो सडक भएर आउजाउ गर्ने यात्रुले सास्ती भोग्दै आएका छन् ।
सडक हिलाम्मे र धुलाम्मे हुँदा यात्रुलाई बाह्रैमहिना हिलो र धुलो पन्छाउँदै बाग्दुला आउनुपर्ने बाध्यता छ । तर सरकारले थप स्तरोन्नतिको काम नगर्दा अहिलेसम्म जोखिम कायमै छ । कच्ची सडक बिग्रेका कारण गाडी ठाउँठाउँमा फस्ने समस्या छ । सडकमा खाल्डाखुल्डी बढ्दै गएर जताततै पोखरीजस्तै आहाल बनेपछि सडक असारे खेतजस्तै देखिन थालेको छ ।
सडकको अवस्था सुधार नहुँदा बर्सेनि दुख खेप्नुपरेको स्थानिय गुनासो गर्छन। यहाँ अन्य सार्वजनिक सवारी बाहेक दैनिक दर्जन बढी ट्रिपर सहित ओहोर दोहोर गर्छन् । नौबहिनी – ८ लुप्लुङबाट चुनढुङ्गा खानीमा ओहोर दोहोर गर्ने ट्रिपरले बाटो बिगारेको कारण यो सडक जोखिमपुर्ण बनेको हो । खानी उत्खनन् मार्फत कर असुल्ने सरकारले सडकमा प्रयाप्त बजेट बिनियोजन नगर्नाले सडक सुधार हुन सकेको छैन ।
चुनढुङ्गा खानी निस्कने ठाउँ अँधेरीदेखि बाहाने सम्मको हालत पनि उस्तै छ । सरकाले गाउँपालिकाको केन्द्रसम्म पुग्ने सडक कालोपत्रे गर्ने भन्ने योजना अगाडि सारेको वर्षौ भएपनि यहाँ कार्यन्वयन भएको छैन ।