आज मन्त्रिपरिषद्को बैठक बस्दै, निर्वाचनको मिति घोषणा हुने
काठमाडौं,साउन १९ । संघीय संसदको निर्वाचनको मितिका बारेमा छलफल गर्नका लागि आज मन्त्रिपरिषदको बैठक बस्दै छ।
आज दिउँसो १ बजे बस्ने मन्त्री परिषद बैठकले संघ र प्रदेशको निर्वाचन मिति तोक्न सक्ने सम्भावना रहेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।
बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री देउवालाई सुझाएका थिए । त्यस सुझावका आधारमा प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद बैठकमार्फत प्रदेश र संघको निर्वाचन तोक्न सक्नेछन् ।
निर्वाचन आयोगले पनि आगामी ४ मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिसकेको छ । तर, सरकारले अहिलेसम्म चुनावको मिति तोक्न सकेको छैन ।