टोखामा चारवटा सवारीसाधन एकआपसमा ठोक्किएर घट्यो डरलाग्दो दुर्घटना

काठमाडौं,साउन १९ । टोखा नगरपालिका वडा नम्बर २ स्थित टोखा ओरालो नजिकै डरलाग्दो दुर्घटना भएको छ । बिहीबार मध्याह्न भएको सो दुर्घटनामा ४ वटा सवारीसाधन एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएको टोखास्थित प्रहरी प्रभागले जनाएको छ ।
टोखा ओरालोमा नजिकै भएको दुर्घटनामा एउटा कार, २ वटा स्कुटर र एक मोटरसाइकल एक आपसमा ठक्कर खाएको थियोे । दुर्घटनामा प्रदेश नम्बर ३-०१-०२३ च ७२८० नम्बरको गाडी र बा ५१ प ६९५८ नम्बरको मोटरसाइकल त्यस्तै बा ९८ प ८०८ र बा ५६ प ९५३३ नम्बरको स्कुटर एकआपसमा ठोक्किएको टोखा प्रहरी पोस्टका बरिस्ठ नायब निरीक्षक जयबहादुर सिंहले बताए ।
घाइतेहरुलाई द्रुत गतिमा प्रहरीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुर्याएकाले मानवीय क्षति भने नभएको निरीक्षक सिंहले बताए । पछिल्लो समयमा टोखाका सडक क्षेत्रमा भयावह दुर्घटना भैरहेकाले सजगता अपनाउन प्रहरीले सबैलाई आग्रह गरेको छ ।